काठमाडौं, २१ चैत ।
कोरोना भाइरस संक्रमणको आशंकामा नेपालमा हालसम्म १२ सय ७७ को नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६ जनाको रिपोर्ट मात्र पोजेटिभ देखिएको छ ।
शुक्रबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर एक सय २० जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको पनि जानकारी दिए । संक्रमण मिल्दो लक्षण देखिएकाहरलाई अस्पतालको आइसोलेसनमा राख्ने गरिन्छ ।
उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर एक सय पाँचजना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । ।
कोरोनाको आशंकामा उपत्यकाबाहिर धरानमा ३९, हेटौँडामा पाँच, धनगढीमा चार, सुर्खेतमा सात, जनकपुरमा पाँच र पोखरामा १९ जनाको नमुना परीक्षण गरिएको देवकोटाले जानकारी दिए ।
नेपालमा हालसम्म ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये एकजनामा निको भइसकेको छ । दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत छन् ।