Logo
Logo

एनआरएनएद्वारा आर्थिक सहयोग संकलन अभियान सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

अमेरिका, २२ चैत । कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघले आर्थिक संकलन अभियान शुरु गरेको छ ।
नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको संघले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९ राहत कोष’को स्थापना गरी आर्थिक सहयोग संकलन अभियान अगाडि बढाएको हो ।
संघका अध्यक्ष कुमार पन्तले कोषमा संकलन हुने रकम आवश्यकताअनुरुप नेपाल र नेपालबाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने बताए । संघले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेटमार्फत तथा एनआरएनए रेस्पेक्ट आइएनसी डट नेट वेभसाइटमा गई अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ । साथै संघले सानिमा बैंकमा खोलेको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।
अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग सङ्कलनको कार्य तीव्र भइरहेको छ । संघअन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले समेत आर्थिक सहयोग कोष बनाएरसमेत ती देशहरुमा आर्थिक सहयोग संकलन गरिरहेको जानकारी अध्यक्ष पन्तले दिए । आर्थिक सहयोग सङ्कलन अभियानबाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भए पनि करिब रु तीन करोड जम्मा हुने अपेक्षा राखिएको संघले जनाएको छ ।
संघले गैरआवासीय नेपाली संघ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब रु एक करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत रु एक करोड सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले भनेबमोजिम थप आवश्यक सामग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिए ।
संघले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका एनआरएनएका अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबै एक भएर अघि बढ्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थीदेखि सबै नेपालीलाई आवश्यक सहयोगको काम भइरहेको जानकारी दिए । संघको हालसम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्