Logo
Logo

देशभर आठ हजार जना क्वारेन्टाइनमा, १२० जना आइसोलेसनमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ चैत
कोरोना भाइरसको संक्रमणको शंका भएका र विदेशबाट आएका करिब आठ हजार सर्वसाधरण सरकारले बनाएको क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक बढीरहेको छ ।


गृह मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक करिब एक हजारका दरले बढेको छ । ‘देशभरी करिब आठ जना पब्लिक क्वारेन्टाइनमा बसेका छन्,’ गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भन्छन्,‘क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढीरहेको छ ।’ १ चैतपछि विदेशबाट आएकालाई अनिवार्य रपमा क्वारेन्टाइनमा बस्न सरकारले भनेको छ । त्यस्तै संक्रमितसँगै जहाजमा आएकाहरु समेत क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बस्ने मध्ये करिब दुई हजार सैनिक प्रहरी मात्र छन् । बिदाबाट फर्किएकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा रहेनेमा धेरै जसो भारतबाट आएकाहरु छन् । कतिपयलाई सीमा क्षेत्रमा तथा केहीलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् । विदेशबाट आएका सबैलाई घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ । स्थानीय तहहरुले विदेशबाट आएका करिब ६० हजारको विवरण संकलन गरिसकेको छ । १ चैतयता तेस्रो मुलुकबाट मात्र करिब १५ हजार जना आएका थिए । उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनिएको छ । जसमध्ये कतिपय होम क्वारेन्टाइनमा बसिएको भनिएपछि त्यसको प्रभावकारी रुपमा अनुगमन हुँंदा संक्रमण फैलने जोखिम छ ।

सबैभन्दा धेरै सुदुरपश्चिम र कर्णाली प्रदेशमा सर्वसाधरण क्वारेन्टाइनमा छन् । जहाँ २÷२ हजारको संख्यामा छन् । गण्डकी प्रदेशमा करिब १२ सय तथा प्रदेश १, २, बाग्मती र कर्णालीमा ८-८ सय जना क्वारेन्टाइनमा छन् ।

क्वारेन्टाइनमा बस्नेलाई सरकारले नै प्रहरीले पाउने बराबर राशनभत्ता दिने निर्णय गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा क्वारेन्टाइनहरु देशभरी सञ्चालन गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई उच्च ज्वरो आएमा तथा कोरोनाका गम्भीर लक्षण देखिएमा अस्पतालको आइसोलेसन कक्षमा राख्ने गरिएको छ । एक सय २० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक लाखको लक्ष्य, २७ हजार निर्माण

सरकारले देशभर एक लाख क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । तर, हालसम्म करिब २७ हजार क्षमताको क्वारेन्टाइन मात्र बनेका छन् । त्यसमा पनि धेरै जसो सुरक्षा निकायले बनाएका छन् । त्यसमध्ये पनि धेरैमा आधारभूत सुविधा समेत छैन । हरेक क्वारेन्टाइनमा चिकित्सक, स्वास्थ्यकर्मी, सफाई कर्मचारी हुनुपर्दछ । क्वारेन्टाइनमा बस्नेलाई सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्