Logo
Logo

थप तीन जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या ९ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौंं, २२ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिएको छ । महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् ।
योसँगै नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए ।
तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को संक्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा संक्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्