Logo
Logo

कोरोना आशंका गरिएका व्यक्तिको नमुना रिर्पोट नेगेटिभ


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, २२ चैत । बाजुरामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको नमुना रिर्पोट नेगेटिभ आएको छ । परिक्षणका लागि काठमाडौं केन्द्रीय ल्याप प्रयोगशाला टेकुमा पठाइएको नमुना रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । भारतको नयाँदिल्लीबाट फर्किएका १६ वर्षका युवकलाई गएको मंगलबार जिल्ला अस्पताल बाजुरामा राखिएको थियो ।
क्वारेन्टाइनमा बसेका गौमुल गाउँपालिकाका ती व्यक्तिलाई ज्वरो बढेपछि जिल्ला अस्पताल ल्याइएको थियो । कोरोनाको आशंकामा आइसोलेशन कक्षमा राखेर उपचार गरिरहेका युवकको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ देखिएको हो । ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएका युवक केन्द्रीय प्रयोग शालाबाटै परिक्षण गर्दा नेगेटिभ देखिएकोले आइसोलेशन कक्षबाट डिस्चार्ज गरिएको छ ।
भर्ना भएकै पछिल्लो दिन कोरोनाको संक्रमणमा स्वाब प्रादेशीक अस्पताल धनगढी पठाइएको थियो । धनगढीमा मेसिन जडानमा ढिलाइ हुँदा काठमाडौं पठाइएको थियो । आइसोलेशनमा राखिएको चार दिन पछि नमुना परिक्षणबाट नेगेटिभ रिपोट आएको हो । ‘ढुक्क हुनेगरि नतिजा आएकोले विरामीलाई अन्य विरामीसँगै राखिने बेडमा सारिएको हो’ उनले भने ।
थप चेक जाँच र अवस्थाबारे जानकारी लिएर केही दिनमै घर पठाउने कार्यालय प्रमुख समेत रहेका डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । डाक्टर विश्वकर्माका अनुसार ती व्यक्तिमा क्षयरोग र फोक्सोमा केही अरु नै समस्या हुन सक्ने बताएका छन् ।
ज्वरो आउनेक्रम नरोकिएपनि परिक्षणबाट कोरोना भएको पुष्टी नभएकोले अन्य रोगको पहिचान गरि उपचार गरिने बताइएको छ । जिल्लामा ९२ जना बाहिरबाट आएका सर्वसाधारण क्वारेन्टाइनमा बस्ने गरेका छन् । क्वारेन्टाइनमा बसेका सबैमा कुनै समस्या नदेखिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्