वायु अर्थात् हावा, हावा अर्थात जीवन । हावाविना हामी एक मिनेट पनि बाँच्न सक्दैनौँ । तर, त्यही हावा नै हाम्रो लागि काल बन्दै गएको छ । मानिसको अकालमै मृत्युको कारकमध्ये एक वायुप्रदूषण पनि हो ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथ्य घामजस्तै छर्लङ्ग छ । हरेक १० मध्ये ९ जनाले प्रदूषित हावामा सास फेर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणबाट विश्वभर करिब ७० लाख व्यक्तिको मृत्यु हुन्छ । नेपालमा मात्रै बर्सेनि ४२ हजार बढीको मृत्यु हुने गरेको छ ।
वायु प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बनेको छ । दक्षिण एसियामा यो समस्या अझ विकराल छ । सहरी जनजीवनमा वायु प्रदूषण जटिल बन्दैछ । छिमेकी मुलुक पाकिस्तानदेखि भारत हुँदै बंगलादेशको राजधानी ढाकासम्म फैलिएको गंगा तटीय क्षेत्रमा रहेको उच्च वायु प्रदूषणको प्रभाव नेपालमा पनि परेको छ ।
आज (बिहीबार) कांठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरमा दर्जा भयो । काठमाडौँमा प्रदूषण अझै बढ्न सक्ने जलवायु विज्ञहरू बताउँछन् । प्रदूषित हावा काठमाडौं उपत्यकाभित्रै ठप्प भएर निस्कन पाएको छैन । त्यसमा डढेलो, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण र पेट्रोलियम पदार्थबाट चल्ने थोत्रा सवारी साधनको उत्सर्जन थपिएपछि काठमाडौंको वायुको गुणस्तर असाध्यै खतराको तहमा पुगेको छ ।
वायु प्रदूषण समग्र नेपाल र विशेषगरी राजधानी काठमाडौँका लागि सर्वकालिक समस्या र चुनौतीको विषय हो । काठमाडौंको आकाशलाई तुवाँलोले ढाकेको छ । वायु प्रदूषणका कारण बिरामीको संख्या बढ्दै गएको छ । मानव स्वास्थ्यमात्र होइन, प्रकृतिको स्वास्थ्य र पारिस्थितिकीय प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरुको अध्ययनले देखाएका छन् ।
पछिल्ला अध्ययनले वायु प्रदूषणले मस्तिष्कघात, फोक्सोमा क्यान्सर, सरदर उमेर घटाउने दरसमेत बढाएको देखाएका छन् । विशेषगरी काठमाडौँ उपत्यकामा प्रदूषणका कारण पछिल्ला वर्षमा दम, उच्च रक्तचाप, मुटु रोग, ब्रोंकाइटिसलगायतका रोगीको संख्या बढेको देखिएको छ ।
वायु प्रदूषणले पर्यटन क्षेत्र समेत प्रभावित बन्दै गएको छ । काठमाडौंमा टेक्नका साथ पर्यटक बिरामी हुने गरेका छन् । वायु प्रदुषणकै कारण बेलाबेला भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित हुँदै आएको छ । कुन बेला उडान हुने भन्ने ठेगान नलाग्दा पर्यटकलाई अन्योलमा परेका छन् ।
आकाशमा उडान हुने अल्ट्रालाइट, प्याराग्लाइडिङ लगायतका गतिविधि पनि प्रभावित भएका छन् । उडान भइहालेपनि पर्यटकले हिमाली दृश्य देख्न पाएका छैनन् । आसपासको दृश्य देख्न नपाउँदा पर्यटक खिन्न हुने गरेका छन् । कतिपयले त उडान नै रद्द गर्न थालेका छन् ।
वायु प्रदूषण हुनुका धेरै कारक हुन सक्छन् । त्यसमध्ये एक हो पुराना सवारीसाधन । पुराना र उचितरूपमा मर्मत सम्भार नभएका सवारी साधनले गर्ने उत्सर्जन धेरै गर्छ । यस्ता साधनले फाल्ने कालो धुवाँमा मानव स्वास्थ्यका लागि हानिकारक तत्व छन् ।
२०७२ चैत १ गते सरकारले २० वर्षभन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो । तर, अझैपनि त्यस्ता सवारीसाधन निर्धक्क गुडिरहेका छन् । मुलुकभर २० वर्ष नाघेका थोत्रा सार्वजनिक सवारीसाधनको संख्या ७५ सयभन्दा बढी रहेको बताइन्छ ।
त्यस्तै, वायु प्रदूषण बढ्नुमा डढेलो, सडक निर्माण कार्य र औद्योगिकरण पनि हो । नेपालमा प्रायः जसो चैतदेखि जेठसम्म जंगलमा आगलागी हुने गरेको छ । मानवीय कारकको रूपमा जंगलमा लागेको डढेलो एक मुख्य कारक हुन । त्यस्तै सडक निर्माण कार्य थालेर अलपत्र छोड्दा धुलो हावामा मिसिने गरेको छ ।
आधुनिकीकरणसँगै फैलिरहेका उद्योग, कलकारखानालाई विकासोन्मुखताका प्रतीक मानिन्छ । तर, त्यसबाट निस्कने धुवाँका साथै फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा वायु प्रदूषण बढिरहेको छ । कृषकले गर्मी र सुक्खा समयमा बालीबाट निस्कने प्रयोगविहीन पदार्थहरूलाई जलाउने कार्यले पनि वायु प्रदूषणको बढाएको छ ।
मानिस आफू बाँच्नका लागिमात्रै नभई पृथ्वीमै आधिपत्य जमाउन चाहन्छ । सहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछ भन्दा अत्युक्ति नहोला । यद्यपि, आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन् ।
प्रदूषण कम गर्न के गर्ने ?
स्वच्छ मानवीय आवश्यकता हो । तर, वायु प्रदूषण जनस्वास्थ्यका सबैभन्दा ठूलो चुनौती बनेको प्रस्ट छ । वायु प्रदूषणका स्रोत पहिचान गरेर त्यसलाई सम्बोधन गर्न सकेमा वायु प्रदूषण न्यूनीकरण गर्न सकिन्छ ।
मानवीय कारकको रूपमा रहेको वन क्षेत्रमा लाग्ने डढेलो कम गराउन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । वन क्षेत्रमा हुनसक्ने आगलागीबारे स्थानीय तहबाट समुदायलाई सचेत गराउनुपर्छ ।
सडक निर्माण कार्य भएका स्थानहरूमा समय–समयमा पानी छर्किएर धुलोका कणहरूलाई उड्न नदिने उपायहरू अवलम्बन गर्ने गर्नुपर्दछ । फोहोरहरू प्लास्टिक जन्य पदार्थलाई जलाउने कार्य तत्काल बन्द गर्नुपर्दछ । नवीकरणीय इन्धन र स्वच्छ ऊर्जा उत्पादनमा ध्यान दिँदै सौर्य, हावा जस्ता वैकल्पिक ऊर्जाको प्रयोग जति सक्दो बढाउनुपर्ने देखिन्छ ।
यसैगरी काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा विद्युतीय शक्तिको प्रयोग गरी दिगो प्रणालीतिर उन्मुख गराउनुपर्दछ । फुटपाथ र साइकल लेन विस्तारसँगै भएका लेनहरूलाई थप व्यवस्थित गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रलाई वैकल्पिक ऊर्जातिर लगानी गर्न प्रेरित गर्नुपर्ने, विद्युतीय सवारी साधनहरूमा आयात कर र सडक कर दुवै कम गराइनुपर्दछ ।
वायु प्रदूषणको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने भएकाले पनि यसबाट बच्ने उपायहरू अपनाउन बेवास्ता गरिनु हुँदैन । सम्बद्ध पक्षले पनि वायु प्रदूषणका कारण उत्पन्न हुन सक्ने मानव स्वास्थ्य समस्या समाधानका निम्ति आवश्यक प्रबन्धको व्यवस्था गर्नुपर्दछ ।
हामी आफैँले गरेको प्रदूषणको असर मात्रै नभई अरूले गर्ने प्रदूषणको असर पनि खेपिरहेका छौँ । यसकारण वातावरणीय प्रदूषणको असर प्रदूषण गर्नेलाई मात्रै होइन, नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ ।