काठमाडौं, २५ चैत ।
गत शनिबार नेपालमा एकैपटक तीन जनामा कोरोना संक्रमण देखियो । दुई जना भारतबाट आएका युवा र एक जनामा आन्तरीक संक्रमण देखिएको थियो ।
त्यो घटनाले नेपालमा कोरोना तिव्र गतिमा फैलिएको आँकलन गरिएको थियो । तर, मंगलबारसम्को तथ्याङकले पनि त्यस्तो देखाउँदैन । तीन दिनयता नेपालमा कोरोनाको नयाँ संक्रमण भेटिएको छैन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पछिल्लो तीन दिनमा करिब पाँच सय शंकास्पद व्यक्तिमा परीक्षण गरिएको तर संक्रमण नभेटिएको जनाएको छ ।
तीन दिनमा संक्रमण नभेटिए पनि नेपाल जोखिममुक्त भइसकेको भने छैन । किनकी भारतबाट तीन लाख भन्दा धेरै सर्वसाधरण चैतमा नेपाल आएका छन् । उनीहरुमध्ये धेरै जसो क्वारेन्टाइनमा बसेका छैनन् । अर्काेतर्फ कतिपयमा संक्रमण भएपनि लक्षण नदेखिने भएकाले जोखिम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई साता नेपालका लागि अझै जोखिमपूर्ण भएको बताएका छन् । सरकारले जोखिम भएकै कारण ३ बैशाखसम्म लकडाउन लम्बाएको छ । भारतमा पनि ३ बैशाखसम्म लकडाउन छ । अबको दुई सातामा पनि नेपालमा धेरैलाई संक्रमण नदेखिएमा भने जोखिम कम हुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । साथै सर्वसाधरणले लकडाउनको नियम मानेर घरमै बसेमा संक्रमण दुई सातामा पूर्ण रुपमा नियन्त्रणमा आउने उनीहरुको भनाई छ।