साहित्यिक दुनियाँमा पारिजातलाई नचिन्ने को होला र ? नेपाली साहित्यमा जुन उचाईमा पारिजात पुगेकी छिन्, त्यो उँचाईमा सम्भवतः अन्य महिला साहित्यकार पुग्न अझै सकेका छैनन् । पारिजात यस्तो धरहरा हो, जसलाई जति टाढाबाट पनि देख्न सकिन्छ ।
पारिजातको ३१औं स्मृति दिवसको उपलक्षमा पारिजात स्मृति केन्द्र र फिनिक्स बूक्सको आयोजनामा पाँच दिनसम्मको महिला पुस्तक प्रदर्शनी भएको थियो । ‘मैले चिनेको पारिजात’ शीर्षकमा पारिजातलाई चिन्ने र चिन्न चाहने विभिन्न साहित्यकार, विद्वान–विदुषीहरुबीच छलफल चल्यो पाँचै दिन । ‘महिला लेखनको कठिनाई र सम्भावना’ विषय अन्तर्गतको एउटा सेसनमा मैले पनि पारिजातसँग सम्बन्धित आफ्ना केही संस्मरण सुनाउने अवसर पाएकी थिएँ ।
अब त ४० वर्ष अगाडिको कुरा भैसक्यो । त्यतिबेलासम्म मैले पनि कलम समाइसकेकी थिएँ, सपनालाई पछ्याउने बाटो पनि बनाईसकेकी थिएँ, तर अझै परिचित थिइन । पारिजातको पुस्तक पढिसकेको र उनलाई नै भेटिसकेको भएपनि अझै राम्रोसंग चिन्न सकेकी थिइन । पारिजातको विशालताभित्रको सानो अंशलाई नै म सिंगो पारिजात ठानिरहेकी थिएँ ।
पारिजातप्रति मेरो आदर थियो, उनलाई आदर्श मान्थें । त्यो बेला आफ्नो हुर्कँदै गरेको विचार र दृष्टिसँग मेल खाने रचना पढ्न नपाएर होला, पारिजात बाहेकका अन्य महिला सर्जकका कृतिले आकर्षण गर्दैन थिए ।
आफूले बोकेको विचारबाट निर्दिष्ट भएर आफैँ पनि पीडित वर्गको पक्षमा लेख्न थालिसकेकी थिएँ । त्यो बेलाका पत्र पत्रिकामा केही छापिन्थे पनि । तर आफ्नो नाम भने खुल्ला गरिसकेकी थिइन । लेख्ने आँट गरेपनि नाम भने गोप्य नै राखिन्थ्यो र प्रकाशनका निम्ति छद्म नाममा दिइन्थ्यो ।
कहिले ‘सूर्य’ कहिले ‘शीला’ र कहिले अरू नै कुनै नाम दिन्थेँ । कुनै कुनै बेला भने साहसै गरेर आफ्नै नाम दिन्थें । साहसको कुरा भन्दा पनि ‘अतिगोप्य’ संगठनको प्रभाव अझै बाँकी थियो । जे गर्दा पनि नाम गोप्य राख्नु पर्ने ! हुन त त्यो बेलाको पञ्चायती शासन पनि त्यस्तै थियो, अन्य राजनैतिक विचारधारा बोकेका जति सबैले आफूलाई लुकाएरै काम गर्नुपथ्र्यो ।
कुनै बेला त पत्र पत्रिकामा देखिएको नामको चर्कै मूल्य पनि चुकाउनु पथ्र्यो । त्यहाँमाथि यसै पनि केटी भएर अगाडि बढ्नु कठिन नै थियो, बाहिरमात्रै हैन, आफ्नै घरमा पनि । स्कूल कलेज बाहेक अन्य समयमा बाहिर गएको, ढिलो घर भित्रिएको जस्ता कुरा टोल छिमेकमा चर्चाको विषय बन्थ्यो । यसले गर्दा मेरी आमालाई निकै गाह्रो भइसकेको थियो ।
बिहे गर्ने उमेरका केटीहरू बिहे नगरी जतिखेर पनि बाहिर हिँड्दा सामाजिक दृष्टिले पनि राम्रो मानिनैदथ्यो । झन् त्यो बेलाको राजनीतिक परिस्थितिकै विरोधमा आलोचनात्मक लेख लेखेर अगाडि बढ्न सजिलो हुने त कुरै भएन ।
त्यस्तो बेला पारिजातलाई मैले चिनेको भन्नु पनि टाढाको उज्यालो चिनेजस्तो मात्रै थियो । ‘साहित्य–सन्ध्या’ का कार्यक्रममा म पनि जाने गर्थें बेला बेलामा । पारिजातलाई बोकेर ल्याएर आसन ग्रहण गराइन्थ्यो ।
उनको उपस्थिति मात्रले पनि मनमा खुसी पलाउँथ्यो । सभा नै गौरवान्वित हुन्थ्यो । जम्मा एक पटकमात्र म्हैपिको कोठामा पारिजातलाई प्रत्यक्ष भेट्ने अवसर पाएकी थिएँ । त्यो एकपल्टको भेट पनि मेरो सम्झनामा रहिरहने भयो ।
चीन पुगेपछि मात्र हो मैले आफ्नै नाममा नियमित लेख्न थालेको । त्यो बेला पनि आफ्नै खुसीले भन्दा परिस्थितिले लेख्न लगाएको थियो– पैसाको खाँचोले कलम धस्नु परेको थियो । केही जापानी सहपाठीहरुको सुझाव र मद्दतले मैले दुई वर्ष जति लगातार लेखेँ चीनमा हुँदा । त्यो अवधिभरी पारिजातसँग भेट्ने कुरै भएन ।
चीन जानु अगाडि एकपल्ट नाचघरमा ‘बेचिएका चेली’ नामको नाटक देखाइएको थियो लामै समयसम्म । म पनि एकदिन हेर्न पुगेकी थिएँ । नाटक हेरिसकेपछि मेरो मन साह्रै बेचैन भयो । कुनै एउटा पत्रिकामा लेखिछु– नाटककै बारेमा भन्दा पनि बेचिनु पर्ने चेलीको व्यथाका बारेमा । सायद त्यो बेला सम्ममा आफ्नै नामले लेख्ने थालिसकेकी थिएँ । लेख प्रकाशित भए पछि त्यस लेखको समिक्षात्मक टीप्पणीमा पत्रात्मक शैलीमा पारिजातको लेख पढ्न पाएँ ।
‘बोनु’ भनी सम्बोधन गरेको लेखमा त्यही मैले लेखेको लेखको समर्थनमा आएको पारिजातको जवाफ थियो त्यो । मलाई खुसी लाग्यो– लेखन मार्फत संवाद हुन थालेकोमा । तर, त्यसको केही समयपछि नै म चीन गएँ । यतातिरको धेरै सम्बन्धहरुबाट टाढिनु स्वभाविक नै थियो । पछि पाँच वर्ष पछि फर्कंदा ४६ सालको जनआन्दोलन सकिसकेको थियो । र, पारिजात दिदी रोगले थलिइसकेकी थिइन् ।
२०४६ सालको आन्दोलनमा चैत ३ को लेखक कलाकारहरूको कालोपट्टीको विशेष स्थान छ । त्यो बेला बिरामी पारिजात दिदी पनि मैदानमा उत्रेर कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रेको कुराले उनीप्रतिको श्रद्धा अझै बढेको थियो मेरो । फर्केर भेट्ने इच्छा हुँदाहुँदै मेरो आफ्नै परिस्थितिको कारण भेट्ने अवसर मिलेन । अब त ३१ वर्ष नै पुगिसकेछ– पारिजात दिदीले यो धर्ती छोडेको पनि ।
मेरो लेखन यात्रामा पारिजातको प्रत्यक्ष, अप्रत्यक्ष विशेष भूमिका छ । र, मेरो लेखनमा पनि उनको नामले विशेष ठाउँ लिएको छ । यही ‘सम्पूर्ण आकाश’मा मात्र पनि पारिजातसँग जोडिएका धेरै लेखहरु छन् । पहिलेपहिले पारिजात स्मृति सभामा पुगिरहन्थ्यौँ । हरेक वर्षको स्मृतिदिवसमा सुकन्या दिदीको फोन आउँथ्यो र त्यो बेला हामी (सरोज र म) जसरी भएपनि पुग्थ्यौँ ।
पारिजात दिदी अहिले हामीसँग सशरीर नभएपनि हामीमध्ये धेरैको लेखन यात्रामा सँगसँगै हुन्छिन् । पारिजातबाट सिकेको कुरा भनेको साहस हो, सत्यप्रतिको समर्पण हो । उनले आफ्नो समयमा बन्द ढोका र झ्यालहरुलाई साहसका साथ खोलिन्, परेका बेला उज्यालो भित्र्याउन पर्खाल र भित्ताहरू नै भत्काइन् । खुलेका तिनै झ्याल ढोकाबाट र भत्किएका तिनै पर्खालको प्वालबाट सत्यलाई नियाल्न हामीलाई सजिलो भएको थियो ।
आफ्नो यात्रामा पारिजातलाई सँगै लिएर हिँड्दा नै उनीप्रतिको श्रद्धा, सम्मान र प्रेमले सार्थकता पाउँछ । र उनीलाई आफ्नो यात्रामा लिएर हिँड्ने हो भने, परेका बेला आफ्नो वर्तमानका बन्द झ्याल–ढोका खोल्ने, मानिसको सृजन–सम्भाव्यतालाई सीमित पार्ने बाक्ला पर्खाल र भित्ता फोड्ने साहस गर्नैपर्छ ।
जबजब नयाँ पिँढीका किशोरी र नवयुवतीहरुले आफ्नो सृजनयात्रामा यस्तो साहस गरिरहको देख्छु, नयाँ रूपमा पारिजात अवतरित भएको देख्छु । नयाँ युगका सबै पारिजातहरूलाई नमन !