काठमाडौं, २६ चैत
२० डलरमा किनेको थर्मल गनलाई १६ हजारमा बेचेको आरोपमा पक्राउ परेका व्यापारी सुलभ अग्रवालालाई जिल्ला प्रशासन कार्यालय काठमाडौैंले सात दिन थुनामा राख्न म्याद दिएको छ । कालोबजारी मुद्दामा उनीमाथि मुद्दा चल्ने भएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको थियो । ग्राहक बनेर डिल गरेको प्रहरीले उनीसँग ६७ वटा थर्मल गन बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले कुटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेटको गाडी दुरुपयोग गरि ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दै आएका थिए । उनी कीर्गिस्तानका लागि नेपालका अवैतानिक महावाणिज्यदूत हुन् । सोही आधारमा उनले निलो नम्बरप्लेटको गाडीको दुरुपयोग गरेका हुन् । पक्राउ परेका अग्रवाललाई कालोबजारी मुद्दामा कारबाही गरिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।
प्रहरीका अनुसार उनले शनिवार मात्रै चिनको ग्वान्जाओ सहरबाट ७ टन स्वाथ्य सामाग्री नेपाल ल्याएका थिए । सोही सामाग्री बजार मुल्य भन्दा अत्याधिक महंगोमा बिक्रि गरेको सुचना पछि प्रहरीले अनुसन्धान थालेको थियो । सामान किन्न प्रहरी १० लाख रुपैयाँ लिएर गएको थियो । प्रहरीले उनको गाडी समेत बरामद गरेको छ ।
पक्राउ परेपछि उनले सो सामान कतिमा किनेको भनेर बिल देखाउन मानेका छैनन् । न्यूरोडका विभिन्न पसलहरुबाट खरिद गरेको बताएका छन् । प्रहरीले उनको घरमा समेत छापा हानेकोमा केही बरामद नभएको जनाएको छ । उनी यूनियन लाइफ इन्स्यारेन्सका अध्यक्ष समेत हुन् । विपद्को बेला स्वास्थ्य तथा अन्य सामानको कालोबजारी गर्नेहरु निगरानीमा रहेको एसएसपी थापा बताउँछन् ।