सुविख्यात कवि भूपी शेरचनको एउटा प्रसिद्ध कविता छ, ‘यो हल्लै–हल्लाको देश हो…।’
पञ्चायतकालीन समयमा हल्लाहरूले राम्रै प्रश्रय पाएको थियो । मानिसहरू यथार्थमा भन्दा पनि हल्लामा विश्वास गर्थे । मैले राणा–प्रधानमन्त्री जङ्गबहादुर राणाको जुँगाको कथा सुनेको थिएँ । जङ्गबहादुरले खाना खाइसकेपछि हात पखाल्न पानी हालिदिने एक जना सहयोगी र मुख पुछ्न रुमाल दिने अर्को सहयोगी हुन्थे रे ! एक पटक खाना खाएर मुख पुछिसकेपछि उनले जुँगा मुठार्दै उत्तरी दिशातिर फर्किएर हेरेछन् ।
त्यसपछि व्यापक हल्ला चलेछ, ‘अब जङ्गेले उत्तर हान्ने भो !’ यस्तो हल्ला जङ्गबहादुरको कानमा पनि पुगेछ । ‘यस्तो हल्ला कहाँबाट कसले चलायो ? मैले उत्तरमा चढाइ गर्छ भन्ने कसले हल्ला चलायो ?’
यिनै प्रश्नबिच घेरिएर उनले पत्ता लगाउन चाहेछन् । सबै भाइभारदार, प्रशासनलाई यस विषयमा पत्ता लगाउन आदेश दिएछन् । अहँ ! हल्ला चलाउने व्यक्ति पत्ता लाग्नै सकेन । पछि थाहा भएछ, जङ्गबहादुरले खाना खाएपछि उत्तरतिर फर्किएर जुँगा मुठारेका हुँदा ‘जङ्गेले उत्तर हान्ने भो !’ भन्ने हल्लाको सूत्रपात हुन पुगेको रहेछ ।
म वाग्मती अञ्चलाधीश हुँदाखेरिको कुरा हो । काठमाडौँमा एउटा हल्ला चल्यो, ‘राजा वीरेन्द्रले दोस्रो विवाह गर्नुभयो !’ यो निकै संवेदनशील विषय बन्यो । यस्तो हल्ला चलेपछि दरबारमा पनि निकै ठूलो खल्बली मच्चियो ।
एक दिन मलाई दरबारबाट खबर आयो, ‘कसले यस्तो हल्ला मच्चाइरहेको छ ? पत्ता लगाउनुप¥यो ।’ तात्कालिक समय डा. तुलसी गिरि प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यस समय उहाँको सहारा योञ्जनसँग विवाह हुन लागेको थियो ।
गाइँगुइँ सुनिन थाल्यो, ‘यस्तो हल्ला कतै प्रधानमन्त्रीको तहबाट त भएको होइन ?’ त्यस समय न्यूरोड, पीपलबोटलाई हल्लाको मुख्य केन्द्रविन्दु मानिन्थ्यो । काभ्रेपलान्चोकबाट निर्वाचित राष्ट्रिय पञ्चायतका सदस्य ईन्द्रबहादुर क्षेत्री निकै गफाडी र हल्लाखल्ला गर्न रुचाउने स्वभावका हुनुहुन्थ्यो । उहाँ पीपलबोटलगायत धेरै ठाउँमा घुमिरहनुहुन्थ्यो । कसैले मलाई भने, ‘यो हल्ला त ईन्द्रबहादुरले गरेका हुन् ।’
यथार्थ कुरा बुझ्नका लागि मैले उहाँलाई बोलाएँ । उहाँले भन्नुभयो, ‘म राष्ट्रिय पञ्चायतको सदस्य ! राजाको विषयमा म यस्तो नचाहिँदो हल्ला गर्दै हिँड्छु र ?’ मैले उहाँलाई भनेँ, ‘राजाको विषयमा नचाहिँदो हल्ला भयो । अब तपाईँले एउटा हल्ला गरिदिनुप¥यो, माननीयज्यू ! जसले यस्तो हल्ला गर्दै हिँडेको छ, अञ्चलाधीशले उसको जिब्रो नै छेडिदिने कुरा गरेका छन् भनेर हल्ला चलाइदिनुप¥यो ।’ नभन्दै रापंस ईन्द्रबहादुरले यो हल्ला फैलाउँदै हिँड्नुभएछ । यो हल्ला व्यापक भयो । त्यसपछि राजा वीरेन्द्रबारे फैलाइएको हल्ला आफैँ शान्त भयो ।
एक पटक अर्को हल्ला मच्चियो, ‘राष्ट्रिय गानलाई समेत वास्ता गर्न छाडियो । राष्ट्रिय गान बजेको बेला मानिसहरू उठ्नै छाडे ।’ यस्तो हल्ला चल्नुको कारण के थियो भने, हरेक सिनेमा हलमा चलचित्र सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने नियम लागु गरिएछ । सिनेमा हलहरूमा राष्ट्रिय गान बजाइँदा दर्शकहरू नउठ्दा रहेछन् । चलचित्र हेर्न जानेहरू कहाँ राष्ट्रिय गान बज्दा उठ्नु !
यो विषय मसामु आइपुग्यो । त्यस समय उपत्यकाभित्र ८–१० वटा सिनेमा हल थिए । यो मेरा निम्ति टाउको दुखाइको विषय बन्यो । सिनेमा हेर्न गएका दर्शकहरूलाई राष्ट्रिय गान बज्दा कसरी उठाउनु ? त्यस समय सिनेमाको सेन्सर अञ्चलाधीशले नै गर्नुपथ्र्यो । कहिले अञ्चलाधीश आफैँ र कहिले सहायक अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीलाई पठाएर सेन्सर गर्ने चलन थियो ।
यस्तो हल्ला चलेपछि मैले सबै सिनेमा हलबाट ८–१० वटा टिकट मगाएँ र सादा पोशाकका प्रहरीलाई दिँदै भनेँ, ‘तिमीहरू दर्शकहरूसँगै बस्नू । जब राष्ट्रिय गान सुरु हुन्छ, आफू छेउका कोही उठेनन् भने झ्याप्प समातेर उठाइहाल्नू ।’ सबै सिनेमा हलमा यस्तो तरिका अपनाएपछि भोलिपल्टदेखि राष्ट्रिय गान बज्दा दर्शकहरू उठ्न थाले ।
राष्ट्रिय गान बज्दा दर्शकहरू नउठेपछि चलेको यो हल्लाको निरुपण यसरी गरियो । मलाई भन्न थालियो, ‘तपाईँले के चटक गर्नुभयो ? अहिले त राष्ट्रिय गान बज्दा सिनेमा हलमा पूरै दर्शकहरू उठ्छन् रे नि !’
पञ्चायतकालमा सीमित पत्रपत्रिकाहरू प्रकाशित हुन्थे । ती पत्रपत्रिकाहरूमाथि अञ्चलाधीश कार्यालयलाई सेन्सर गर्ने अधिकार दिइएको थियो । स्वदेशभित्र प्रकाशित हुने पत्रपत्रिकाहरू मात्र होइन, बाहिर (भारतलगायत मुलुक) बाट आएका पत्रपत्रिकाहरू सेन्सर गर्नका लागि विमानस्थलमै एक जना शाखा–अधिकृतलाई खटाइन्थ्यो ।
एक पटक कुनै विषयमा विरोध जनाउने हेतुले केही पत्रिकाका सम्पादकले सम्पादकीयमा कालो पोत्ने निर्णय गरेछन् । यो कुरा मैले बेलुकीपख मात्र थाहा पाएँ । सम्पादकहरूका यस्तो निर्णयले पाठकमा नराम्रो सन्देश जाने भयो भन्ने लाग्यो । मैले तत्काल जनसम्पर्क अधिकृतलाई निर्देशन दिएँ, ‘एउटा चिठी तयार पार्नुस् र आजै राति सबै पत्रिकाको कार्यालयमा पु¥याइदिनुस् ।’
पत्रमा के लेखिएको थियो भने, ‘खबर, लेखहरूलगायत प्रकाशन गर्नका निम्ति पत्रपत्रिकाहरूलाई स्वीकृति दिइएको हो । तर सम्पादकीयमा कालो कुन दफाअनुरुप पोत्न लागिएको हो ? यदि सम्पादकीयमा कालो पोतिएर प्रकाशित भयो पत्रिकाको दर्ता खारेज हुन्छ ।’
तत्काल सबै पत्रिकाका सम्पादकहरू भेला भएछन् र कानुन व्यवसायीसँग पनि परामर्श गरेछन् । कानुन व्यवसायीले पनि ‘कानुनी हिसाबले तपाईँहरू तल हुनुहुन्छ’ भनेछन् । भोलिपल्ट सम्पादकीयमा कालो नपोती ती पत्रिकाहरू प्रकाशित भए ।
गणेशमान सिंहको अंश प्रकरण
२०३३ सालमा बीपी कोइरालासँगै स्वदेश नफर्किउन्जेलसम्म नेपाली काङ्ग्रेसका नेता गणेशमान सिंह भारत निर्वासनमा हुनुहुन्थ्यो । उहाँ बनारस, गोरखपुरतिर फाटेको सुरुवाल लगाएर हिँड्नुहुन्छ भन्ने खबर हामीकहाँ आउँथ्यो । सिंहले निर्वासित जीवन बिताइरहेकै बेलाको कुरा हो यो । काठमाडौँमा रहेको उहाँका सम्पत्ति जोगाइदिन केही मानिस लागेका थिए ।
खासगरी ‘चाक्सीबारीस्थित जग्गा र घर सिंहले राजा त्रिभुवनबाट बक्सिस पाएको रकमद्वारा खरिद गर्नुभएको हो’ भन्ने सुनिन्थ्यो । त्यस जग्गामाथि उहाँकै दाजुभाइले अंशको दावी गरे र मुद्दासमेत प¥यो । फैसला हुँदा उहाँका दाजुभाइले मुद्दा जिते । ‘चलनचल्ती गराउनू’ भनी अदालतले आदेश पनि दियो ।
निर्वासित जीवन बिताइरहेका मानिसको सम्पत्तिको सुरक्षाको प्रश्न थियो । पारिवारिक अंश मुद्दामा उहाँले हार्नु भएपछि चलनचल्ती गराइदिन विभिन्न कोणबाट प्रभावित गर्ने प्रयत्न भएता पनि उहाँको अनुपस्थितिमा सम्पत्तिको चलनचल्ती गराउन प्रशासकीय दृष्टिकोणबाट उहाँको परिवारलाई सम्झाउने–बुझाउने प्रयास भएको थियो ।
मैले सिंहका दाजुभाइलाई बोलाएर सम्झाएँ, ‘उहाँ तपाईँहरूको आफ्नै दाजुभाइ हुनुहुन्छ । मेरो काम मुद्दा फैसला भएपछि त्यसलाई कार्यान्वयन गरिदिने हो । तर मैले के सोचेँ भने, सिंह अहिले मुलुकका निम्ति फाटेको सुरुवाल लगाएर देशबाहिर बसिरहनुभएको छ । यस्तो स्थितिमा उहाँको सम्पत्तिमाथि कब्जा जमाउन खोज्नु राम्रो कुरा होइन । चलनचल्तीका निम्ति उहाँको पनि प्रतिनिधित्व हुनुपर्छ । त्यसैले अहिले म प्रहरीहरूलाई पठाउन सक्दिनँ ।’ मैले प्रहरीलाई पठाउँदै पठाइनँ ।
अंश दावीको मुद्दा दायर गर्ने सिंहका दाजुभाइलाई सम्झाइबुझाई गरेँ । त्यस समय उहाँहरूले पनि यो कुरालाई स्वीकार्नुभएको थियो । गणेशमान सिंहको निर्वासनको अवस्थामा वांहाको सम्पक्तिको सुरक्षामा पि.एल.सिंहको सक्रिय भूमिका रहने गरेको थियो ।
(पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वराजदूत एवं पूर्वप्रशासक सूर्यप्रसाद श्रेष्ठको आत्मकथन ‘सूर्यास्त–विम्ब’को एक अंश)