Logo
Logo

‘टाटु आर्टिस्ट संवेदनशील पेसा हो’


3.4k
Shares

‘टाटु एउटा कला हो । नेपालमा पनि यसको क्रेज बढ्दो छ । पछिल्लो समय युवा वर्गमा टाटु खोप्ने लहर नै चलेको छ । विशेषगरी कलाकारिता वा मोडलिङ क्षेत्रमा रमाइरहेकाहरु ‘फेसन’का रुपमा शरीरका विभिन्न अंगमा टाटु खोप्ने गरेका छन् । बढ्दो क्रेजसँगै टाटु आर्टिस्टहरुको पनि व्यस्तता थपिँदै गएको छ । यसैमध्येकी एक हुन्, सुनिता कुँवर

सुनिता एक सफल टाटु आर्टिस्ट हुन् । बिहान उठेदेखि नसुतेसम्म टाटु खोप्न व्यस्त सुनिता मोडलिङमा पनि रुचि राख्छिन् । मोडलिङप्रतिको रुची र इच्छाले टाटु आर्टिस्ट बनेकी सुनिताले कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्किन आर्ट टाटु सेन्टर’ सञ्चालन गर्दै आएकी छन् । जहाँ, युवा तथा सेलिब्रेटीहरुलाई सेवा प्रदान गर्दै आएकी सुनिता भन्छिन्, ‘टाटु व्यवसायबाट सन्तुष्ट छु ।’ अवसर र समय मिलेको अवस्थामा मोडलिङ गर्दै आएकी उनी भन्छिन्, ‘अहिले टाटु बनाउने लहर नै चलेको छ । पुरुष वा महिला टाटुप्रति आकर्षित हुन थालेका छन् ।’ युवा जमातकी चर्चित टाटु आर्टिस्ट सुनिता कुँवरसँग दृष्टिको जम्काभेट :

टाटु व्यवसायी कतिको सन्तुष्टि हुनुहुन्छ ?
सबैको माया र साथले होला, म आफ्नो पेशामा एकदम सन्तुष्टि छु । यो व्यवसाय अलि संवेदनशील भएको कारणले गर्दा मेहनत र लगनशील निकै हुन आवश्यक छ ।

टाटु बनाउन महिला र पुरुषको कसको बढी क्रेज छ ?
आजभोलि युवा वर्गहरूमा टाटु बनाउने एउटा लहरै चलिरहेको छ । र, विशेषगरी महिला दिदीबहिनीहरू पनि यस क्षेत्रमा निकै क्रेजी भएको मैले पाएँ । मेरो कार्य क्षेत्रमा दुवै महिला र पुरुष आउनुहुन्छ । म आफू महिला भएको कारणले पनि महिला दिदीबहिनीहरु बढी आउँनुहुन्छ ।

मोडलिङ क्षेत्रमा रुचि राख्नुहुन्छ । समय कसरी मिलाउनुहुन्छ ?
सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्थेँ । मेरो रुची र इच्छा अनि साथीभाइको साथ र हौसलाले गर्दा मोडलिङ क्षेत्रमा पनि पाइला चालेकी हुँ । मेरो अफिसमा पनि कर्मचारीहरूको सहयोगी भावना भएको कारणले गर्दाखेरि बेलाबखत मोडलिङमा अफर आउँदा सहजै स्वीकार गरिरहेकी छु । इच्छा र चाहना भएपछि समयको व्यवस्थापन गर्न गाह्रो नहुने रहेछ ।

यो क्षेत्रमा महिलालाई कतिको गाह्रो छ ?
गाह्रो भन्ने कुरा जुनै पनि क्षेत्रमा हुनसक्छ । त्यसलाई हामीले कसरी सहजै सामना गर्छौँ भन्ने कुरा आउँछ । सफलता भन्ने कुरा आजको भोलि आउँछ भन्ने छैन । त्यसका लागि निरन्तर प्रयास, मिहिनेत र सकारात्मक रहेर अगाडि बढ्नु आवश्यक छ । अहिले हरेक क्षेत्रमा महिलाहरूको बाहुल्यता रहेको छ । पुरुषको तुलनामा महिलाहरू पनि हरेक क्षेत्रमा अब्बल हुँदै आइरहेको पाइन्छ ।

टाटु व्यवसायीलाई समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
महिलाहरू घरबाट निस्केर काम गर्न खोज्दा कति जनालाई घरपरिवारबाट सहयोग मिल्छ भने कति चाहिँ घरभित्र खुम्चिएर बस्नुपर्ने बाध्यता रहन्छ । अरुले के भन्छ भन्दा पनि आफ्नो मनको आवाज सुन्नु आवश्यक पर्छ । र, घरपरिवारको साथ भयो भने कसैले रोकतोक गर्न सक्दैन । नेपाली समाजले महिला अगाडि बढेको कहाँ देख्न सक्छ र ? सुरुसुरुमा आफ्नै परिवारबाट पनि टाटु व्यवसायीलाई सहजै स्वीकार्न गाह्रो भएको थियो । मैले गरेको मेहनत र परिश्रमलाई चाहिँ परिवारले अहिले सहज रुपमा स्वीकार्नु भएको छ ।

परिवारबाट कतिको सहयोग मिलेको छ ?
यदि परिवारको साथ र सहयोग नभएको भए म यो स्थानमा पुग्न असफल हुन्थे होला । कुनै पनि क्षेत्रमा लाग्नको लागि परिवारको साथ आवश्यक हुन्छ । परिवारको साथले हौसला प्राप्त हुन्छ । कुनै पनि कठिनाइ पर्दा परिवारको साथले सहजरुपमा काम गर्न अगाडि बढ्न सकिन्छ । आज मलाई यस स्थानसम्म पु¥याउन मेरो परिवार, सम्पूर्ण मेरा शुभचिन्तक, ग्राहक वर्गहरुमा हृदयदेखि नमन गर्न चाहन्छु । उहाँले गर्नुभएको विश्वासले गर्दा आज म सफलताको सिडी चढ्दैछु ।

हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको हो ?
अवश्य पनि । महिलाले घरदेखि अफिससम्म सम्हाल्न सक्छिन्। उसलाई जिम्मेवारी र विश्वासको आवश्यक पर्छ । महिला भएर हरेक क्षेत्रमा जम्नु एक सुखद संकेत हो । सहयोगी भावनाले सबैलाई ऊर्जा प्राप्त हुन्छ । शारीरिक बनावटले महिलालाई पुरुषको तुलनामा गाह्रो होला, तर कार्य शैलीमा र कार्यक्षेत्रमा प्रमाणित गरिसकेका छन् ।

टाटुलाई व्यवसाय रुपमा अँगाल्न चाहनेहरुलाई के भन्नुहुन्छ ?
सर्वप्रथम त हामीभित्र भएको कलालाई चिन्न सक्नुपर्छ । हामी सबैमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ । कुनै पनि व्यवसाय गर्नुभन्दा अगाडि त्यसको सूक्ष्म रुपले अध्ययन गर्नु जरुरत हुन्छ । सफलता तपाईँकै वरिपरि घुमिरहेको हुन्छ । आफ्नो रुचिलाई पेशाको रूपमा परिणत गर्नु आवश्यक छ । एउटा व्यक्ति लगनशील, मेहनती, धैर्यता र अनुशासित हुनु निकै आवश्यक छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
समय निकै बलवान छ, यसलाई खेर नफालौं । जीवनलाई सार्थक र पूर्ण रुपले अगाडि बढौँ । सफल भएन भनेर हामी आत्तिने काम नगरौँ । हामीले आत्मासन्तुष्टि र मनोबल बढाउनु निकै आवश्यक छ । कठिन समयमा पनि खुसी प्राप्त गर्न कहीँकतै जानु आवश्यक पर्दैन । संघर्ष नै जीवन हो भन्ने उद्देश्यले अगाडि बढौँ ।

प्रतिक्रिया दिनुहोस्