Logo
Logo

सर्लाहीमा आगलागीबाट एक सय ६१ घर जले


1.2k
Shares

बरहथवा । सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट १६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ ।

जिल्लाका विभिन्न स्थानमा भएका १२३ आगलागीका घटनाबाट तीनवटा पक्की, १५८ वटा कच्ची गरेर १६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । साथै आगलागीबाट तीन करोड ६८ लाख ७४ हजार ४०० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्नेक्रममा आगोले पोलेर आठजना महिला र पाँचजना पुरुष गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ ।

कार्यलयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले आगलागीबाट १७ गोठ जलेर नष्ट हुँदा १३ पशुचौपाया मरेका र दुई घाइते भएको बताए । उनले खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका बताए ।

गत वैशाख २० गते जिल्लाको दक्षिणपश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागीपीडित परिवारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए ।

२० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र बारुणयन्त्र छन् । स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ । नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्वतयारीमा ध्यान नदिएको बताउँछन् ।

‘मधेशमा हरेक वर्षका चैत वैशाखमा आगलागी घटनाको उच्च जोखिम हुन्छ भन्ने करा सबैलाई थाहा छ तर जोखिम न्यूनीकरणका लागि पालिकाले न बारुणयन्त्रको व्यवस्थापन गरेका छन् न त अन्य तयारी गरका छन् । यसले साना घटनाबाट पनि ठूलो जोखिम बेहोर्नु परिरहेको छ’, उनले भने ।

स्थानीय सामाजिक अगुवा रजनीकान्त झाले अब जिल्लाका हरेक स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाउन जरूरी रहेको बताए । ‘विपद् हरेक वर्ष आउँछ र आकस्मिकरूपमा आउँछ । त्यसकारण यहाँका हरेक पालिकासँग आफ्ना नागरिकलाई विपद्बाट जोगाउने योजना र तयारी हुनुपर्छ’, उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्