काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।
आज (आइतबार) दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध अन्त्यको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिउँदे अधिवेशनदेखि नै संसद् अवरुद्ध गर्दै आएको छ ।
गत शुक्रवारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि सोही विषयलाई लिएर कांग्रेसले अवरोध गरेको छ । बजेट अधिवेशनको पहिलो बैठक नै कांग्रेसले अवरोध गरेपछि संसद् बैठक आगामी जेठ १ गतेसम्मकाे लागि स्थगित भएको छ ।
संसद्को गतिरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘वान टू वान’ वार्ता गरेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनाकारी दिएका छन् । तर, गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने अडान भने कांग्रेसले कायमै राखेको छ ।
बजेट अधिवेशन पनि कांग्रेसले चल्ने नदिए सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेत प्रभावित हुने भएपछि प्रधानमन्त्री प्रचण्ड संसद्को गतिरोध हटाउने अन्तिम प्रयासमा जुटेका हुन् ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम आगामी जेठ एक गते ल्याउने तयारी गरेको छ । वार्षिक बजेट भने जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।