Logo
Logo

विदेशी मुद्रा अपचलन गरेकाे भन्दै २ जनाविरुद्ध अभियोग पत्र दायर


504
Shares

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले  रवीन्द्र राना र ठकमाया रानाविरुद्ध  ४० लाख ३३ हजार बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा  मुद्दा दायर गरेको जानकारी दिएको छ।

विदेशी मुद्रा लुकाई छिपाई राखेर कारोबार गरेको भेटिएपछि उनीहरूमाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३,४,५ विपरीत कसुर गरेको आरोप लागेको छ । 

उनीहरूको साथबाट अवैध रुपमा भित्रिएको अमेरिकी डलर ६ सय ३०, साउदी रियाल ७ हजार ६ सय ४८, पाउन्ड स्टर्लिङ डलर २ सय ३५, क्यानेडियन डलर ३ सय ६०, मलेसियन रिङ्गिट १ हजार २ सय ३६, जापानी यन १ लाख ७४ हजार, कोरियन वन ४८ हजार, युरो ३ सय ५०, थाइ भाट ७ हजार ३ सय जफत गरेको विभागले जनाएको छ ।

यस्तै विभागका अनुसार कतारी रियाल ३ सय ५४, ओमन रियाल २ सय ३१.५०, कुवेती दिनार ६४.५, बहराइन दिनार १ सय ३, अष्ट्रेलियन डलर १ सय, , सिङगापुर डलर ४ सय ३०, यु.ए.ई. दिराम २ सय २५, चाइनिज युआन १ सय र हङकङ डलर १ सय विदेशी मुद्रा उनीहरूबाट बरामद भएको छ । 

उनीहरूको साथबाट स्रोत नखुलेको १९ लाख २ हजार २ सय ६५ रुपैयाँ जफत गरिएको पनि अनुसन्धान विभागले जानकारी गराएको छ ।

प्रतिवादी दुवै जनाले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३,४,५ विपरीतको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकाले अभियोग पत्र दायर गरेको विभागको भनाई छ ।

प्रतिवादी ठक माया रानाबाट स्वयं प्रोप्राइटर रहेको न्यु गाँउवेशी गेस्ट हाउसबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ र विदेशी मुद्राको हुन आउने ९ लाख १५ हजार ८ सय ४८ रुपैयाँ गरी जम्मा १२ लाख १५ हजार ८ सय ४८ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यसै गरी प्रतिवादी रवीन्द्र रानाको हकमा निज सञ्चालक रहेको मनि चेन्जर प्रा.लीबाट बरामद भएको स्रोत नखुलेको १६ लाख २ हजार २ सय ६५ रुपैयाँ र उनले नै संचालन गरेको न्यु गाँउबेशी गेस्ट हाउसबाट बरामद भएको नेपाली रुपैयाँ गरी जम्मा हुन आउने २८ लाख १८ हजार एक सय १३ रुपैयाँ बिगो कायम गरी अभियोग दायर गरिएको छ ।

प्रतिवादी रवीन्द्र राना र ठक माया रानालाई कानुन अनुसारको सजाय दिलाउन माग दावी अभियोग पत्रमा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्