Logo
Logo

महाप्रबन्धक बन्न गुप्ताको दौडधुप


3.8k
Shares

काठमाडौं । बहालवाला सरकारी कर्मचारीले राजनीतिक नियुक्तिका लागि आवेदन प्रक्रियामा संलग्न रहँदा पदबाट राजीनामा दिनुपर्छ । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताको नाम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पनि निकालेको छ । मन्त्रालयले गत वैशाख १३ गते सार्वजनिक गरेको महाप्रबन्धकका दाबेदारहरूको सूचीमा गुप्ताको नाम ९ नम्बरमा छ ।

निर्देशक उमेशकुमार गुप्ता

स्टार्टअप कार्यक्रम छनोट प्रक्रियामा धाँधली गरेको आरोप लागेका गुप्ता प्रतिष्ठान छाडेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक हुन शक्तिकेन्द्रमा धाइरहेका छन् ।

नेपाली कांग्रेसनिकट गुप्ता तरुण दलको जम्बो केन्द्रीय समितिमा पनि अटाएका पात्र हुन् । ब्यक्तिगत रुपमा सामाजिक संस्थामा सक्रिय रहेका गुप्ताको अधिकांश समय कांग्रेस पार्टी र आफ्नो संस्थाको काममै बित्ने गरेको छ । बिराट समाज नामक संस्था खोलेर उनले त्यसमार्फत् सामाजिक सेवाका लागि सरकारी निकायबाट विभिन्न सहयोगसमेत लिने गरेका छन् ।

उनले श्रीमतीको नाममा परामर्शदाता कम्पनी पनि खोलेका छन् । श्रीमतीलाई उक्त कम्पनीमा राखेका छन् । उक्त कम्पनीका लागि आफ्नो पदीय हैसियतको दुरुपयोग गरी कन्सलटेन्सीका काम समेत लिने गरेका छन् । ललितपुरको ग्वार्कोमा बसोबास गर्दैआएका गुप्ताका छोराछोरी जावलाखेलको सेन्टजेभियर्स स्कुलमा पढ्दछन् । उनीहरुलाई अस्तित्व संकटमा रहेको औद्योगिक ब्यवसाय विकास प्रतिष्ठानका गाडीबाट स्कुल लाने÷ल्याउने गरिएको छ ।

प्रतिष्ठानका २ वटा सवारीसाधन मध्ये एउटा आफूले प्रयोग गर्ने गरेको र अर्को गाडी आफ्ना पाहुना, साथीभाइ, आफन्त र छोराछोरीका अलावा घरायसी सामान खरिदमा दुरुपयोग भइरहेको स्रोतले बताएको छ ।

उनै गुप्ता राजीनामा नदिइकन औद्योगिक क्षेत्रको महाप्रबन्धकमा फड्को हान्ने सुरमा छन् । उनले त्यसका लागि वीरगञ्जका एमाले नेता राजकुमार गुप्ताका माध्यमबाट लबिइङ गरिरहेका छन् ।

गुप्ता औद्योगिक क्षेत्रको जीएम हुन एमाले प्रवेश नै गर्नसमेत तयार भएका छन् । तरुण दलमा आवद्ध भएकै आधारमा र वीरगञ्ज घर भएकै कारण पूर्वमन्त्री रमेश रिजालले नियुक्त गरेका गुप्ता क्षमता नै नभएको कार्यकारी निर्देशकका रुपमा प्रतिष्ठानमा चिनिन्छन् ।

तरुण दल, कन्सल्टेन्सी, एनजीओमै ब्यस्त रहने गुप्ताले प्रतिष्ठानलाई आवश्यक समय दिन सकेका छैनन् । औद्योगिक क्षेत्रको जीएम हुनका लागि उनी अहिले आफू एमालेनिकट भएको दलिल पेश गर्दै मन्त्री दामोदर भण्डारीकहाँ धाइरहेका छन् । मन्त्रालय भने उनलाई कसरी बिदाइ गर्ने भन्ने कानुनी बाटो खोजिरहेको एक कर्मचारीले बताए । उनलाई प्रतिष्ठानबाट बिदा गर्न कानुनी बाटोको खोजी भइरहेको ती कर्मचारीको दाबी छ ।

समाचार स्रोतका अनुसार औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा आवेदन दिएका र सर्टलिष्टमा नाम निस्किएकाहरूमा उमेश गुप्ताका अलावा दिनेशकुमार यादव, सहदेव चन्द, दिलीपकुमार श्रेष्ठ, महेशकुमार इशर, लोकेन्द्रबहादुर बलायर, सिर्जना श्रेष्ठ, संजयलाल मानन्धर, मनोज नेपाल, सुरेन्द्र थापा, राकेश यादव, पदम ओली, रामबाबु अधिकारी, सागर श्रेष्ठ गोरखराज जोशी, बसन्तकुमार पाण्डेसहित १६ जना छन् ।

प्रतिक्रिया दिनुहोस्