काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । बैठक कान्तिपुर गार्डेन बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।
बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी समेत बैठकले तोक्नेछ । बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने र संगठन विस्तारका लागि आवश्यक कार्ययोजना बनाउने छ ।
त्यस्तै अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।