काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियतकर्जा प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
नवप्रवर्तन र स्टार्टअफ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । तीन तहका सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्यवयन गरिनेछ । सातै प्रदेशमा बिजनेस इन्कुबेसन केन्द्रको स्थापना गरी स्टार्टअपको विकास र प्रवर्द्धन गरिनेछ ।
औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसम्बन्धी कानुन, प्रक्रिया तथा संरचनालाई समयानुकूल बनाइनेछ । औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गरिनेछ ।
उद्योगहरूमा चौथो पुस्ताको अवधारणा उपयोग गर्न प्रोत्साहित गरिनेछ । उद्योग र कृषि तथा अन्य क्षेत्रका उत्पादन, उपभोग र रोजगारी वृद्धिका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिनेछ । उद्यमशीलता र नवप्रवर्तनका कार्यक्रम ल्याइनेछ । नेपाल व्यापार एकीकृत रणनीति कार्यान्यवनमा ल्याइनेछ ।
मेक इन र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गरिनेछ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई खानी तथा खनिज पदार्थको उत्खनन, अन्वेषण र प्रशोधनमा आकर्षित गरिनेछ ।
वन, खानी र खानीजन्य स्रोतको संरक्षण हुने गरी समुचित उपयोग हुने गरी विकास निर्माणका लागि खनिज पदार्थ उपलब्ध गराउन विद्यमान कानुनी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।
म्याग्नेसाइट, फोस्फोरस, फोस्फोराइट र फलामजस्ता सम्भाव्य खानीहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन गरिनेछ । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।