काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले आज बिहान १०ः ३० बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
सत्तासाझेदार दल नेकपा एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।
अब भने एमालेले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् । त्यहाँ मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सदस्यले समर्थन गर्नुपर्छ ।