जनताको हितमा आधारित परम्परा, संस्कार र मान्यतालाई व्यवहारमा उतार्ने प्रथाका नाममा राजाहरूले शासन गर्थे । इतिहासका पानाहरू पल्टाउने हो भने इशापूर्व १४०० देखि वि.स.२०६५ सालसम्म नेपाली जनतामाथि राजा रजौटाहरूले शासन गरेको भेटिन्छ । यो अवधिमा (करिब तीन हजार पाँच सय २१ वर्ष) विभिन्न वंशका एक सय २४ जना राजाहरूले नेपालमा शासन गरेको देखिन्छ ।
नेपालमा पनि कुनै न कुनै वंशवादले लामो समयसम्म शासन गरेको थियो । त्यो समयसम्म लोकतन्त्र, समानता, सहभागिता, स्वतन्त्रता र समाजवाद जस्ता राजनीतिक मानकहरू वंशवादले दबाएर राखिरहेको थियो । राजा रजौटाहरूले वंशवादको शासन चलाएको अवस्थामा लोकतन्त्र जीवित हुने कुरै भएन ।
जनताको हक, अधिकार, स्वतन्त्रता जस्ता कुरा कुण्ठित बनेका थिए । खैर, आज व्यवस्था बदलिएको छ । नेपालमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको छ । समाजवादको नाराले स्थान पाएको छ ।
आज चौतर्फी संटकले घेरिरहेको छ । प्रतिगामी तत्त्वहरू शिर उठाउँदै छन् । गणतन्त्रलाई बदनाम गर्ने काम गणतन्त्रकै मासिया ठान्नेहरूबाट भइरहेको छ । मैले यस्तो उकुसमुकुसकाबीच विगतमा भए÷गरेका गल्ती कमजोरीमाथि निर्ममतापूर्वक बहस गरिनुपर्छ र भविष्यको नयाँ रेखा कोर्नुपर्छ भन्दै आएको छु ।
आज दलका नेताहरूको राजनीति विगतका राजाहरूको जस्तै छ । यस अर्थ नयाँ राजाहरूको नक्कली राजनीति चलेसम्म देश र जनताले लोकतन्त्रको अनुभूति गर्न पाउँदैनन् । अहिले नेपालमा जे जति राजनीतिक विकृति र विसंगति भित्रिएको छ, त्यो छोटे राजाकै परिणाम हो ।
वि.स. १९९० को दशकदेखि नेपालमा लोकतान्त्रिक आन्दोलन सुरू भएको थियो । करिब सात दशकको प्रयास र ठूलो बलिदानपछि मुलुकले समाजवादी संविधान प्राप्त गरेको छ । दुःखको कुरा, १७ हजार मानिसहरूको बलिदानबाट प्राप्त वर्तमान व्यवस्था आजको दिनमा कसरी हिँडिरहेको छ ? भनेर सोध्ने हो भने, जोकोहीले भन्छ, ‘जाँड खाएर मात्तिएको मान्छे जसरी ।’
यो अवस्था किन आयो ? यसबारे केही मन्थन, विमर्श र समीक्षा गर्न आवश्यक छ । सहिदहरूको बलिदानलाई केही मानिसहरूले अपव्याख्या गरेको पनि सुनिन्छ । उनीहरूले विगतका क्रान्तिलाई अपमान गरिरहेका छन् । जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोह तत्कालीन समयको अपरिहार्यता थियो । साथै, यस्ता आन्दोलन विश्व राजनीतिक इतिहासमा विरलै भएको पाइन्छ ।
विगतलाई आधुनिक चस्माले हेर्दा केही खोट र गल्ती देखिनुलाई अस्वाभाविक मान्न सकिँदैन । मुक्ति या मृत्युको नारा बोकेर ती सहिदहरूले बलिदान नदिएको भए आज देशमा लोकतन्त्र आउने थिएन ।
मान्छे मारेर र मरेर होइन, शान्तिपूर्ण तरिकाले पनि क्रान्ति सम्भव छ भन्नेहरू पनि छन् । मानिसहरूले कुन मूल्यका निम्ति ज्यान दिए ? कुन नारा बोकेर जुलुस निकाले ? कुन विचार र सिद्धान्तको नाममा ब्यानर लेखे ? कुन आस्थाको रक्षार्थ बलिदान हुन तयार भए ? यी सवालहरू महत्त्वपूर्ण सवाल हुन् ।
विगतका आन्दोलन र क्रान्तिमाथि सतही तर्क गर्ने र अपमान गर्नेहरूले नेपालमा बर्सेनि धूम्रपानका कारण २७ हजार मानिसहरूको ज्यान जानेको तथ्याङ्कलाई भुल्नु हुँदैन । त्यसैले जीवनको आहुतिलाई लिएर गरिने सतही टिप्पणी र क्रान्तिको अपमान गर्ने कुरा घोर निन्दनीय छ ।
नयाँहरूको पुरानो भाष्य
नेपालमा बेलाबखत नयाँ शक्तिको चर्को नारा लाग्छ । एकाध वर्षसम्म सुनिने नयाँ शक्तिको नारा बिस्तारै मत्थर बन्छ र सुन्नै छाडिन्छ । सुरमा उग्र, अराजक, र उद्दण्ड सुनिने नयाँ शक्तिका नाराहरू कुनै विचार र सिद्धान्तसँग नाता साइनो राख्दैनन् । केवल लोकप्रियताको भूतले मात्तेका हुन्छन् ।
नयाँहरूको असली अनुहार जान्न सकिने ‘नयाँ जोगिले धेरै खरानी घस्छ’ एउटा नेपाली युक्ति छ । यो युक्ति कुनै जात सम्प्रदायसँग जोडिएको हुनाले यहाँ उल्लेख नगर्दा पनि हुन्थ्यो । तर, नेपाली राजनीतिमा बेलाबेला नौला ‘जोगी’हरू आइरहन्छन् ।
व्यर्थ नारा लगाइरहन्छन् । न विचार छ, न त सिद्धान्त । न उनीहरूको उँचो नैतिकता छ, न त प्रतिबद्धता नै । तर, उनीहरूले नै भनिरहेका छन्, ‘देश हामी चलाउँछौँ ।’ प्रश्न यहीनेर हो, राज्य चलाउने मान्छे नैतिक र राजनीतिक हुनुपर्छ कि पर्दैन ? कानुनभन्दा माथि कोही हुन्छ ?
स्मरण होस्, यतिबेला पूर्वसञ्चारकर्मी रवि लामिछानेको चर्चा खुब चलिरहेको छ । टिभिका रवि लामिछाने र सत्तामा पुगेपछिका रवि लामिछाने एकै हुन् कि फरक ? भन्ने सवाल घनिभूत भइरहेको सुनिन्छ । लामिछाने माथि चर्चा गरिएका नयाँ नारा लगाउने मध्येका एक पात्र हुन् । आज उनी विभिन्न आरोपको भारी बोकेर मुलुकको गृहमन्त्री बनिरहेका छन् ।
संसदीय छानबिन समितिको माग उठ्दा उनी भन्छन्, ‘म निदोर्ष छु । छानबिन समिति बनाउँदा गलत नजिर बस्छ ।’ सार्वजनिक स्थानमा बसेको मानिसमाथि प्रश्न उठ्दा छानबिन हुनु गलत हो ? उनले सत्ताको दुरुपयोग गरिरहँदा टुलटुल हेरेर बस्नुपर्ने ? दुई वटा नागरिकताको मुद्दामा सत्ताको दुरुपयोग गरेर क्लिन चिट पाएका लामिछाने फेरि सहकारी ठगिमा आफू निर्दोष रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयबाट क्लिन चिट बोकेर हिँडिरहेका छन् ।
गृहमन्त्री लामिछानेमाथि छानबिन नै भएको छैन । तर, महान्यायाधिवक्ता क्लिन चिट कसरी दिए ? किन दिए ? यो सरासर राज्यसत्ताको दुरुपयोग हो । यो सामान्य घटना होइन । यो अपराधलाई थप प्रशय दिने काम हो । जो राज्यका महत्त्वपूर्ण स्थानमा बसेका मानिसहरूबाट भइरहेको छ ।
यसरी सत्ता र शक्तिको दुरुपयोग गरेर हजारौँ जनताको पसिनामाथि बलात गरेका लामिछानेले सुशासनको गफ गर्न भने छाडेका छैनन् । हिजो उनले जसलाई खराब र अपराधी भन्दै हिँडेका थिए, नो नट अगेन भनेका थिए, आज उनीहरू (ओली—प्रचण्ड) लाई नै बिना संकोच अंगालो हालेर हिँडिरहेका छन् ।
त्यसैले सत्ता बाहिर हुँदा एउटा र सत्तामा पुग्दा फरक कुरा गर्नेहरू नयाँ शक्तिका असली हकदार भन्न लायक हुँदैनन् । केही चुनाव जित्दैमा र सत्तामा पुग्दैमा सारा जित्यौ सोच्नु भ्रम हो । भ्रमबाट मुक्त भएको दिन आफ्नो असली धरातल देखिन्छ ।
अन्त्यमा, राजनीति सामाजिक सहभागितासहितको यात्रा हो । यस यात्राको मुख्य व्यक्ति निश्चल, सफा, पारदर्शी, दुरदृष्टि राख्ने, स्वार्थ र प्रलोभनमा नपर्ने खालको छ भने मात्र त्यो यात्रा कुशलतापूर्वक गन्तव्यतिर अगाडि बढ्छ । होइन, नेतृत्व विभिन्न आरोप प्रत्यारोपको भारी बोकेर हिडिरहेको छ, भ्रष्ट छ, ठगिमा संलग्न छ भने त्यस्तो नेताले नेतृत्व गरेको राजनीतिक दल वा संगठनमा निराशा छाउँछ । मूल नै धमिलो भएपछि खोलामा सङ्लो र सफा पानीको कल्पनासमेत गर्न सकिँदैन ।
हो आज यही भएको छ, हरेक राजनीतिक दलका मुख्य नेताहरू आरोप र अपराधमुक्त छैनन् । जो आरोप र अपराधको भारी बोकेर हिँडिरहेका छन्, उनीहरूलाई नै अगाडि लगाएर चुनावमा भोट माग्ने, सत्तामा जाने जस्ता कार्यहरू आज प्रयत्न जारी छन् ।
आज अस्तित्वमा रहेका कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, रास्वपाका नेतामाथि कुनै न कुनै प्रकारको अपराधको आरोप छ । उनीहरूले सत्ताको दुरुपयोग गरेर क्लिन चिट लिने र जनमतको हुर्मत लिने जस्तो गम्भीर अपराध गरिरहेको घाम जस्तै छ ।
खैर, वर्तमान अवस्थाको ठोस् विश्लेषण गर्दा आज मुलुकमा लोकतन्त्र नभएर दलतन्त्र चलिरहेको छ । दलभित्र एक नेताको आदेश चल्छ । मुख्य नेताको आदेशमा प्रदेशका नेताहरू चल्छन् । हुप्रको राजनीति त इतिहासमा राजाहरूले गर्थे ।
ठिक आज दलका नेताहरूको राजनीति विगतका राजाहरूको जस्तै छ । यस अर्थ नयाँ राजाहरूको नक्कली राजनीति चलेसम्म देश र जनताले लोकतन्त्रको अनुभूति गर्न पाउँदैनन् । अहिले नेपालमा जे जति राजनीतिक विकृति र विसंगति भित्रिएको छ, त्यो छोटे राजाकै परिणाम हो ।