- रमेश घिमिरे
स्वतन्त्र पत्रकार
चीनको उहान शहरबाट गत डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट हालसम्म एक लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै, १५ लाखभन्दा बढी संक्रमित छन् । योक्रम बढ्दो छ । नेपालको आधिकारिक तथ्यांकअनुसार अहिलेसम्म नौ जना संक्रमितमध्ये एक जना उपचारपछि घर फर्किएका छन् ।
चीनले भर्खरै उहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाएको छ । हाल कोभिड–१९ को केन्द्रविन्दु युरोप र अमेरिका भएको छ । युरोपमा कोभिड–१९ को संक्रमण उच्चविन्दुमा पुगेर केही घट्दो क्रममा छ । संयुक्तराज्य अमेरिकामा यो संक्रमण डरलाग्दो रुपमा बढिरहेको छ ।
यसबाट के स्पष्ट हुन्छ भने कोभिड–१९ नयाँ–नयाँ क्षेत्रमा विस्तार भइरहेको छ । दक्षिण एसियामा भारत र पाकिस्तानमा यो संक्रमण तिव्ररुपमा फैलिरहेको छ । तसर्थ, नेपालले अत्यन्त सर्तकताका साथ आफ्नो मुलुकमा प्रकोप फैलन नदिनका लागि युद्धस्तरमा सबै उपायहरु अपनाउनु पर्दछ किनभने, दक्षिण एसियामा यो बढ्दो क्रममा छ । र, कुनैपनि बेला यसको विष्फोट हुन सक्दछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि यसको चेतावनी दिइसकेको छ ।
यसबाट के बुझ्न सकिन्छ भने कोभिड–१९ विरुद्धको लडाइँ लामो समयसम्म चल्नेछ । जबसम्म यसको खोप तयार हुँदैन, तबसम्म कोभिड–१९ विरुद्ध लडाइँ जारी रहने छ । वैज्ञानिकहरुका अनुसार यसको खोप तयार गर्नका निम्ति एक वर्षदेखि डेढ वर्षसम्मको समय लाग्नेछ । वैज्ञानिकहरुले यो पनि सम्भावना व्यक्त गरेका छन् कि, ‘कोभिड–१९ ले आफ्नो चक्र पूरा गरेर समाप्त पनि हुन सक्दछ ।’
यतिखेर विश्वका अधिकांश देश ‘लकडाउन’ छ । ‘लकडाउन’ खुलेपनि हामीले खोप उपलब्ध नभएसम्म हाललाई सामाजिक दूरी राख्नुको कुनै विकल्प छैन ।
त्यसैले कोभिड–१९ विरुद्धको लडाइँ लामो समयसम्म जारी रहनेछ । त्यसकारण नेपाल सरकारले आफ्ना नागरिकका लागि विभिन्न किसिमका ‘राहत प्याकेज’को व्यवस्था गर्नु पर्दछ । कोभिड–१९ विरुद्धको लडाइँ सरकारको मात्र लडाइँ होइन । दलभन्दा माथि उठेर यस लडाइँमा नेपाली जनतालाई कसरी सिपाहीको भूमिकामा सक्रिय गराउने त्यसमा सरकार चुक्नु हुँदैन । यसलाई हल्काफुल्का रुपमा लियौँ भने त्यसको ठूलो मूल्य हामीले चुकाउनुपर्नेछ ।
twitter : @rameshghimire
प्रकाशित मिति : २८ चैत, २०७६