काठमाडौं । दार्चुलाको उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटिएको छ ।
व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने तिङ्कर नाकामा प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली बिहीवार नै तिङ्कर नाकातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
नेपालको भूमि भएर तिङ्कर पुग्न पाँच दिन लाग्ने भएपछि सुरक्षाकर्मीको टोली भारतीय बाटो हुँदै तिङ्कर गएको हो । छायालेक प्रहरीले तिङ्कर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ ।