काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् ।
सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए ।
उनले भने, ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ? मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका लामिछानेले अगाडि भने, ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’
अहिले प्रतिनिधिसभाको बैठक जारी छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएको थियो । दोस्रोपटक निर्धारण गरिएको समयभन्दा करिब दुई घण्टा ढिलोगरी बैठक शुरु भएको हो ।