काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार विश्वासको मत लिँदैछन् । वैशाख ३१ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिनका लागि अझै तीन हप्ता समय बाँकी नै छ । जेठ ३१ गतेभित्र उनले विश्वासको मत लिइसक्नुपर्छ । तर, जसपा नेपालको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत रोक्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन् । अध्यक्ष यादवको तर्फबाट जसपा नेपालबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट परेको छ ।
अध्यक्ष यादवले जसपाबाट विभाजित भई गएका ७ सांसदलाई विश्वास मत प्रक्रियामा सहभागी नगराउन माग गरेका छन् । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार ७ जना सांसदविरुद्ध रिट दायर भएको छ ।
गत जेठ २ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जसपा नेपाल र जसपालाई छलफलका लागि यही जेठ ८ गते बोलाएको थियो । राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश पनि दिएको थियो ।
प्रचण्डले त्यसअघि नै जेठ ७ गते नै विश्वासको मत लिन लागेका हुन् । मुद्दाको टुंगो नलाग्दै प्रधानमन्त्रीको विश्वासको मतदानमा सहभागी नगराउन र रोक्न भन्दै रिट दायर भएको सर्वोच्च प्रशासनले जनाएको छ । सर्वोच्चले यो रिटको पेशी सोमबारका लागि तोकेको छ ।
उपेन्द्र नेतृत्वको जसपा नेपालबाट विभाजित भएर वैशाख २३ गते अशोक राई नेतृत्वमा नयाँ दल दर्ता भएको थियो । निर्वाचन आयोगले नवगठित जसपालाई वैशाख २४ गते दर्ता गरेको थियो ।