काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘समीक्षा यात्रा’ सुरु गरेको छ । पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका दुर्बल पक्ष पहिचानका लागि रास्वपाले आइतबारदेखि समीक्षा यात्रा सुरु गरेको हो ।
यात्रा असार ५ गतेसम्म ३२ जिल्लाका ४८ स्थानमा केन्द्रित रहने जनाइएको छ । पार्टी महामन्त्री मुकुल ढकालको नेतृत्वमा नागरिकको घर–दैलोमा गएर पार्टीमा भएका सही, गलत तथा थप सुधार गर्ने विषयमा यात्रा केन्द्रित हुने रास्वपाले जनाएको छ ।
वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो । यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले बताए ।
एक महिने यात्रामा महामन्त्री ढकाल ३२ जिल्लामा पुग्ने बताइएको छ । रास्वपाका अनुसार काठमाडौँबाट सुरु भएको यात्रा डोल्पा पुगेर टुंगिदासम्म महामन्त्री ढकाल ४८ वटा समीक्षा बैठक र कार्यक्रममा सहभागी हुनेछन् ।