काठमाडौं । कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको बैठक अनिश्चित बनेको छ । सहकारी ठगी प्रकरणबारे छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रगत सर्त (टीओआर) टुंगो लगाउन आज बिहान बैठक बस्ने भनिएको थियो । तर, टीओआरको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो ।
कार्यदल संयोजक एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अब प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै बैठक बस्ने तयारी भएको जानकारी दिए । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्(डले विश्वासको मत लिँदैछन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उनी जोडिएको सहकारीको नाम कार्यादेश (टीओआर) मा राख्ने कि नराख्ने विवादले संसदीय छानबिन समिति गठन अनिश्चित बनेको छ । सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठकमा नेताहरुबीच आइतबार पटक–पटक गरी सात घण्टा भन्दा बढी छलफल भएको थियो ।
कार्यादेशमा सहकारी संस्थाको बचत रकम हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच सहमति हुन नसकेको हो । त्यसपछि बिनानिष्कर्ष सकिएको बैठक हालसम्म बस्न सकेको छैन ।