बारा, चैत २९ ।
विपद्को बेला केन्द्र सरकारका मन्त्रीहरु कमिसनको पछि लागेको भनेर आलोचना भइरहेका स्थानीय तहमा पनि त्यस्तै किसिमको बिकृती छ । कतिसम्म भने विपन्नलाई वितरण गर्ने राहतमा समेत अनियमितता भइरहेको छ ।
कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले नगरपालिकाबाट बितरण गराएका खाद्यान्न सामग्री कुहिएको र दोब्बर मूल्यमा दिएको फेला परे पनि बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले छानबिन गरी कारवाही नगरी उल्टै संरक्षणमा लागेको आरोप लागेको छ ।
कलैया उपमहानगरपालिकाले न्यून आर्थिक अवस्था भएका गरिब र मजदुरलाई लकडाउनमा छाक टार्न बितरण गरेको चामल र दाल कुहिएको भेटिएको र आलु दोब्बर मूल्यमा बिक्री गरेको सार्वजनिक भए पनि कालोबजारी गर्ने कलैया उपमहानगरपालिकाको जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक लाभ लिनको लागि प्रहरी प्रशासनले बचाउन खोजेको पीडितहरुले गुनासो गरेका छन् ।
कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीयामा बितरण गरिएको चामल, वडा नम्बर ७ र २० मा शुक्रबार बितरण गर्न लागिएको दाल कुहिएको भेटिएको छ ।
वडा नम्बर २२ मा मसिना चामल भनेर बितरण गरिएको र त्यसलाई बुझेर घरमा लगेर चामलको बोरा खोल्दा त्यसमा कुहिएको चामल भेटिएपछि त्यसलाई फिर्ता गरेर स्थानीयले कारवाहीको मागसमेत गरेका छन् । ५६ रुपैयाँ प्रतिकिलोको मसिनो चामल लेखिएको बोरामा ३५ रुपैयाँ किलोको कुहिएको चामल भेटिएपछि राहत पाउनेले फिर्ता गरेका हुन् ।
मसिना चामलको बोरामा कुहिएको सारो धानको चामल किन बितरण गरेको भनी वडा अध्यक्षसँग सोध्न जाँदा वडाअध्यक्ष लालबाबु यादवले उपमहानगरपालिकाले यस्तै दिएको र चामलको बारेमा केही बोल्यो भने ठिक नहुने भन्दै धम्काउने काम गरेको बिजयप्रसाद साहले गुनासो गरेका छन् ।
१ सय जना भन्दा बढी स्थानीयहरुले बुझेको मसिना चामलको बोरामा कुहिएको सारोका चामल भेटिएपछि स्थानीयहरुले त्यसलाई वडा कार्यालयमा राखेर शुक्रबार बिहानैदेखि खाद्यान्न सामग्री बितरणमा कालोबजारी गर्नेलाई कारवाहीको माग गरेर बिरोधमा समेत गरे । तर प्रहरी प्रशासनले कुनै चासो नलिएको आरोप साहले लगाएका छन् ।
वडा नम्बर ७ मा बितरण गरिएको रहरको दालमा कालो कालो कुहिएको जस्तो देखिएपछि दाल राहत लिनेहरुले वडाअध्यक्ष र नगर प्रमुखलाई कारवाहीको माग गरेका छन् ।
त्यसैगरी वडा नम्बर २० बस्तपुरमा शुक्रबार बितरण गर्न लागिएको दाल कुहिएको देखेपछि स्थानीयहरुले बिरोधले त्यसलाई प्रहरीले नियन्त्रणमा लिए पनि कुहिएको दाल बितरण गर्ने कलैया उपमहानगरपालिकाका जन प्रतिनिधि र कर्मचारीहरुलाई कुनै कारवाही गर्नु भन्दा प्रमुख जिल्ला अधिकारीले संरक्षण गरेका गुनासाहरु कलैयावासीले गरेका छन् ।
कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले वडा नम्बर २२ , ७ र २० मा फेला परेको कुहिएको दाल र चामल आफै व्यवस्था गरेर बितरण गर्न लगाएको एक वडा अध्यक्षले बताएका छन् ।
डेढ महिनापहिला १८ देखि २२ रुपैयाँसम्म प्रतिकिलोको दरमा किनेर आफ्नै कलैया उपमहानगरपालिका ७ रंगपुरमा रहेको यादव कोल्डस्टोरमा राखेको आलुलाई अहिले ३५ देखि ४० रुपैया प्रतिकिलोको दरले वडाहरु मार्फत् बिक्री गरेर स्थानीयहरुलाई राहतमा बितरण गराउने काम नगरप्रमुख यादवले गरिरहेका छन् ।
नगर प्रमुख यादवले आफै सस्तोमा किनेको कुहिएको चामल, दाल र दोब्बर मूल्यको आलु बिभिन्न वडाहरुमा वडा अध्यक्ष र वडा सचिवसँग बितरण गराउँदै आएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले कलैया उपमहानगरपालिकाले बितरण गरेको खाद्यान्न सामग्री मध्ये वडा नम्बर २२ बाट कुहिएको चामल र वडा नम्बर ७ र २० बाट कुहिएको दाल भेटिएपछि त्यसको नमुना ल्याएको बताएका छन् ।
दाल र चामलको नमुना ल्याए पनि दोषीलाई कारबाही गराउन लिखित उजुरीको आवश्यक रहेको भन्दै कलैया उपमहानगपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुलाई जोगाउने कार्यमा समेत लागेका छन् ।
केही दिनदेखि कलैया उपमहानगरपालिकाले गुणस्तरहीन खाद्यान्न सामग्री राहतको नाममा बितरण गरेको गुनासो आए पनि प्रजिअ पण्डितले त्यसको छानबिनमा कुनै चासो नदेखाएको गुनासो बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साहले गर्दै आएका थिए ।
कलैया उपमहानगरपालिकाभित्र रहेका २७ वटा वडाहरुमा १६ हजार घरधुरी परिवारलाई १५ किलो चामल, एक किलो दाल, पाँच किलो आलु, एक किलो नुन लगायत खाद्य सामग्री बितरण भैरहेको कलैया उपमहानगरपालिकाले जनाएको छ ।
समाजवादी पार्टी नेपालका नेता तथा संविधानसभा सदस्य प्रमोद गुप्ताले सामाजिक संजालमै कलैया उपमहानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बितरण गरेको भन्दै संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।