Logo
Logo

चीन यात्राको सम्झना


5k
Shares

निकै मेहनत गरेपछि चीन यात्रा सम्भव भएको थियो । तर, सुरुमै एयरपोर्टमा पसेको एकछिनपछि नै मन खिस्रिक्क भयो । सरोज र म दुवैले धेरै पहिलेदेखि चिनेको साथीको साथमा म चीन जाँदैथिएँ । उनले मलाई एउटा खाम बोक्न दिएका थिए । त्यो खाममा डलर राखेको रहेछ, मलाई भनेनन् । त्यो बेला एकदमै थोरै डलर मात्र साट्न पाइन्थ्यो ।

उनीसँग भएको बढी डलर पनि कति पो थियो होला र, महिलालाई बोक्न दिँदा धेरै सोधखोज हुँदैन भन्ने ठानेका होलान् उनले । तर, जे भए पनि मलाई केही नभनेकोले उनले ठिक गरेनन् जस्तो लाग्यो, साथीले गर्ने हर्कत थिएन त्यो । पुलिसले खाम देख्ने बित्तिकै छामेरै थाहा पायो र आफू फन्दामा परियो जस्तो नै लागेको थियो ।

जसोतसो उम्किए पनि त्यसले गर्दा यात्राको उत्साहमा नै कमि आयो । रिस उठ्नुसँगै एउटा पुरानो साथी गुमाएको जस्तो पनि लाग्यो । तर, जीवनमा पहिलो पल्ट देशको पहाड, हिमाल नाघ्दै थिएँ, जति रिस उठे पनि गन्तव्यमा नपुगुन्जेल उसँगै यात्रा गर्नु थियो । जहाजमा बसुञ्जेल, र पछि बाटोभरी नै ती साथीसँग कुरा गर्न पनि इच्छा भएन ।

हङकङमा अर्को जहाजबाट क्यान्टोन र क्यान्टोनबाट १२ घण्टाभन्दा बढि रेलको यात्रा गरेर शाङ्हाइ पुग्नु थियो । साथमा चार वर्षकी सानी छोरी पनि भएकोले केही अत्तिनु स्वाभाविकै थियो । बल्लबल्ल मुस्किलले जोरजाम गर्न सकेको थोरै पैसाले पर्याएर शाङ्हाइ पुग्ने सबैभन्दा सहज बाटो यही थियो ।

अहिले त काठमाडौंबाट शाङ्हाइ पुग्न त्यति लामो समय र त्यति दुःख पाउनुपर्ने कुरा कथाजस्तै नै भइसक्यो । मान्छेको जीवन यात्रामा आकाश जमिनको फरक आइसकेको बेला हो यो । जहाज हङकङमा पुग्यो । त्यति विकसित आधुनिक शहरमा कहिल्यै पाइला राखेकी थिइन । सहर देखेर अच्चम्मित भएँ । त्यो ठूलो आधुनिक शहरमा पैसा थोरै हुनेहरू बास बस्ने चुङकिङ म्यान्सनका साना कोठाहरू देख्दा फेरि अर्को अचम्म लाग्यो ।

एकरात त जसरी पनि बिताउँछु भन्ने भयो । बेलुकी नै एकछिन सहर पसेर बच्चा र आफ्नै निम्ति केही किनमेलको काम सकेँ । हङकङ पुगेपछि सारीको सट्टामा अरु सजिलो कपडा फेरेर आउने सल्लाह थियो सरोजको ।

त्यो बेला नेपालमा अहिले जस्तो कुर्ता लगाउने चलन सामान्य भइसकेको थिएन । जस्तै असजिलो भएपनि विवाहित महिलाले सारी नै लगाउने चलन थियो । सरोजको सल्लाहलाई मानेर त्यहाँ केही कपडा किनें र फेरें । अर्को दिन क्यान्टोनको निम्ति फेरि अर्को जहाज चढ्यौँ । बाटो लामो थिएन, एकछिनमै पुगियो ।

तर, त्यहाँ पनि एकरात बास बस्नु पर्ने थियो । क्यान्टोनको मेडिकल स्कूलका नेपाली विद्यार्थीहरूलाई सरोजले फोन गरेर त्यहीँको गेस्ट हाउसमा बस्ने बन्दोबस्त मिलाइदिन आग्रह गरेका रहेछन् । राम्रै सहयोग मिल्यो, खासगरी प्रेम तिमिल्सिनाबाट । जो पछि डाक्टर भएर केही समय काठमाडौं मोडेल अस्पतालमा पनि काम गरे ।

क्यान्टोन नै मैले चीनमा पाइला हालेको पहिलो ठाउँ थियो । त्योबेलासम्म हङकङ बेलायतकै उपनिवेश थियो । पहिलोपल्ट चीनमा पाइला टेकेको दिनको केही सम्झना अझै पनि बाँकी छ । फरक रहनसहन भएको ठाउँमा फरकै खानपिनबाट चीनको जीवन सुरु भयो । बाथरुममा एकपल्ट नुहाउनु पर्यो भनी पस्दा त आफै तर्सिएँ । सार्वजनिक बाथरुममा कुनै कपडाबिना नुहाइरहेका चिनियाँ विद्यार्थी केटीहरुलाई देख्दा । ननुहाईकनै फर्केर सुतेँ ।

भोलिपल्ट बिहान कलेजको मैदानमा मीठो संगीत बजिरहेको सुनेर हेर्न मन लाग्यो । कलेजमा काम गर्ने प्रोफेसरदेखि पियनसम्म एकै लाइनमा बसेर व्यायाम गर्दा रहेछन्, संगीतको तालमा । त्यो मलाई एकदमै मनपर्यो ।

समाजवादी चीनको पत्रिकामा देखेका कुरा मध्येको एउटा दृश्य– महिला र पुरुष समान रुपमा संगसंगै व्यायामको विभिन्न मुद्रामा हल्का नाचिरहेका चिनियाँहरू देख्दा लोभ लाग्यो । अब भने समाजवादी देशमा प्रवेश गरिसकेको जस्तो लागेर मनमा एकछिन खुसी पनि लाग्यो ।

क्यान्टोन सहर नै त हेर्ने समय थिएन, त्यही मेडिकल स्कूलभित्र देख्न पाएका दृश्य नै मन लोभ्याउने थिए । एउटा सफा र ठूलो हरियो मैदानमा एकजना गल्फ खेलिरहेकी पाकी र सभ्य लाग्ने महिलालाई देखें । सुन्दर र उज्यालो अनुहारकी सजिलो कपडामा मस्तसंग खेलिरहेको देख्दा मनमा एककिसिमको आनन्द थपियो– महिलाको स्वतन्त्रतासँग साक्षात्कार भएजस्तो लाग्यो । शायद उनी त्यही कलेजकी डाक्टर वा प्रोफेसर थिइन् ।

चीन त पुगियो, तर गन्तव्यमा पुग्न अझै बाँकी नै थियो । त्यहाँबाट हवाईजहाजमै यात्रा गर्न पैसा नपुगेको भएर रेलको यात्रा गर्नुपरेको थियो । रेलमा पनि आरामपूर्वक सुतेर यात्रा गर्ने पैसा नभएर तेस्रो तहको सबैभन्दा सस्तो सिट खोज्यौं ।

बसेरै रात काट्ने सिटमा १२ घण्टा भन्दा बढि समय बच्चालाई काखमै राखेर यात्रा गरें । यहाँ पुग्दा भने प्रत्यक्ष रुपमा समाजवादमा पनि विभिन्न वर्गका मान्छेहरू हुँदा रहेछन् भन्ने देखेँ । गरीब चिनियाँहरू पनि पैसा बचाउनकै निम्ति तेस्रो श्रेणीमा यात्रा गर्दा रहेछन् । अहिले त धेरै फरक भइसक्यो होला ।

रेलमा लामो समय बस्नु परेको अनुभव पनि त्यही बेला भयो । खाने बेला भएपछि रेलभित्रकै क्यान्टिनबाट खाने कुरा किनेर पनि खाएँ, बच्चालाई पनि खुवाएँ ।

बाटोमा ठाउँ ठाउँमा स्टेशनमा पुग्दा खानेकुराहरु बेच्न पनि ल्याउँदा रहेछन् । म दर्शक भएर हेरिरहेँ– आफ्नै वरिपरिका चिनियाँ यात्रुहरूले किनेका सामानहरू र खाएका कुराहरू ।

एकठाउँमा उसिनेको अण्डा पाकेटमा ६÷६ वटा गरी रेलको झ्यालबाट बेचिरहेको देखेँ । मेरै वरिपरीको यात्रुहरूले ६ वटा अण्डा सबै एकैजनाले खाएर सिध्याएको देख्दा अचम्म लाग्यो । उनीहरूको पेट पनि बलियो हुँदोरहेछ भन्ने लाग्यो ।

मेरा जिज्ञासु आँखाहरूले साना–ठूला सबै कुरा अवलोकन गरिरहेका थिए । हामी साङहाइमा पुग्यौं भन्ने थाहा भएपछि अत्यन्त खुसी लाग्यो । अब छिट्टै नै सरोजलाई भेट्न पाइने भयो भन्ने कुरा ।

मेरो गन्तव्य स्थलमा भने अझै पुग्न भ्याएको थिएन । ‘गाइड’ बनेका तिनै सहयात्री साथीको पछि लागेर पहिले उनकै कलेजमा पुग्यौं, स्टेशनबाट ट्याक्सी लिएर ।

मलाई रमाइलो लागेको अर्को कुरा थियो– साङहाइमा त्यो बेलुकीपखको ट्याक्सीमा ड्राईभर महिला थिइन् । म पहिलोपल्ट महिला ट्याक्सी ड्राईभर देख्दै थिएँ ।

त्यसपछि त्यहींबाट सरोजलाई फोन गरेर सुनाईदिएँ, हामी आइपुग्यौ भनेर । सरोज पनि खुसी हुँदै लिन आए । त्यो अर्को खुसीको क्षण थियो ! एक वर्षको दुःख र अनेक किसिमका अनुभव र प्रतीक्षापछिको भेट वास्तवमै कति मीठो हुँदो रहेछ !

प्रतिक्रिया दिनुहोस्