Logo
Logo

नेपालमा जोखिम बढ्दै, एकैपटक तीन जना संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ३० चैत ।
नेपालमा एकैपटक थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै नेपालमा जोखिम बढेको छ ।
हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको हो ।


संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ। स्वास्थ्य मन्त्रालयले यो नतिजा औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरिहरेको छ।

कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ।
शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो। लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।
शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ। उनीहरुलाई स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको छ। बिहीबार छपकैयाँ र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा ‘स्क्रिनिङ’का लागि आएका थिए।उनीहरुले धेरैलाई भेटेको हुनसक्ने भएकाले चिन्ता बढाएको छ । भारतबाट आएका दुई जनामा यसअघि नै संक्रमण देखिएको थियो ।

यो घटनापछि लकडाउन थप कडाई गर्ने तयारी सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्