काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सदनमा रहेका विपक्षी दलहरूको बैठक आज पनि बसेको छ । नयाँ बानेश्वरको संघीय संसद भवनस्थित कांग्रेस संसदीय दल नेता एवं सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरूको बैठक अहिले जारी छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार संसदको बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बसेको हो । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, बैठक बस्न ढिलाइ भएको छ ।
कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्नेबारे राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गर्दै आएको छ ।
कांग्रेसले सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सहित सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार भएपनि कार्यादेशबारे सहमति भइसकेको छैन । उक्त कार्यादेशमा गृहमन्त्री रवि लामिछानेकै नाम लेख्नुपर्ने अडानमा कांग्रेस छ भने सत्ता पक्ष व्यक्तिकेन्द्रित समिति बनाउन नहुनेमा छन् ।