काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संघीय संसद्को दुवै सदनमा अवरोध जारी राख्ने निर्णय गरेका छन् । शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी नेताहरुको बैठकले संसद्को गतिरोध जारी राख्ने निर्णय गरेको हो ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले संसदको अवरोध कायम राख्ने निर्णय भएको बताए । कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ । संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि दलहरुबीच टीओआर (कार्यादेश) मा सहमति नजुट्दा कांग्रेसले अवरोध कायमै राखेको छ ।