काठमाडौं । दाङको घोराहीमा भारत सरकारको सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन गरिएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको नेरु. १.७६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालय भवनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले एक कार्यक्रमबीच शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. २.८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवनको पनि उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
भारत सरकारको अनुदान सहयोग लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।
त्यसैगरी भारत सरकारको आर्थिक सहयोग दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप–महानगरपालिकाका मेयर र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।
दाङस्थित श्री बाल जनता माध्यमिक विद्यालय र श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । तीमध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन् ।
यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १९ वटा एम्बुलेन्स र ५वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ ।