Logo
Logo
जम्काभेट

गीत संगीतविना एक मिनेट पनि बस्न सक्दिनँ : अञ्जु


1.1k
Shares

नेपाली गीतसंगीत क्षेत्रमा नामै काफी छ अञ्जु पन्त । अञ्जु नेपाली सुगम संगीतकी एक धरोहर हुन् । खाशमा भन्ने हो भने अञ्जु पन्तविना नेपाली गीतसंगीत अधुरो लाग्न सक्छ ।

साढे दुई दशकभन्दा बढी यसै क्षेत्रमा क्रियाशील हुँदै आएकी अञ्जुले हालसम्म कति गाइन् भन्दा पनि, कति गाउँछिन् भन्नु अत्योक्ति होला । किनकि, सात हजारभन्दा बढी गीत गाएर दर्शक तथा श्रोताको मनज मुटुमा बस्न सफल अञ्जु पन्त अहिलेकी पनि व्यस्त र चर्चित गायिका हुन् । आधुनिक होस् वा पाश्र्वगायनमै किन नहोस्, सांगीतिक बजारमा अञ्जुको माग अलिकति पनि घटबढ छैन । उनी भन्छिन्, ‘हिजोआज पनि रेकर्डिङ र कार्यक्रमहरुमै व्यस्त छु ।’ कोकिल स्वरकी धनी लोकप्रिय गायिका अञ्जु पन्तसँग रेजिना पाण्डेको जम्काभेट :

धेरै व्यस्त हुनुहुन्छ है ?
हो, कहिले रेकर्डिङ त कहिले कार्यक्रम । नेपालको पुर्व–पश्चिमका कार्यक्रम भ्याउनु परेको छ । साथै, कहिले नेपाल बाहिरको कन्सर्टहरुले गर्दा व्यस्त छु ।

गाएर थाक्नु भएको छैन ?
थोकेको छैन नि, म गाएर कहिल्यै थाक्दिनँ । मलाई अझै धेरै गाउन पाए हुन्छ भन्ने जस्तो लाग्छ ।

गीत नगाइकन एकदिन बस्न सक्नुहुन्छ ?
जसरी माछा पानीविना बस्न सक्दैन, त्यसरी नै म गीतसंगीतविना एक मिनेट पनि बस्न सक्दिनँ । मिनेट मिनेटमा गुनगुनाइरहेकी हुन्छु ।

तपाइँले गाएका अधिकांश गीत किन रुचाइन्छ ?
प्रभुको कृपाले हो । मलाई यति सफल बनाएकोमा प्रभुलाई धन्यवाद पनि दिन्छु ।

आफ्नो कतिपटकसम्म दोहोराएर सुन्नुभएको छ ?
धेरै गीतहरु छन् । जो, कतिचोटी सुने भनेर गनेर साध्यै छैन ।

आफुले गाएकोे गीत सुनेर रुनुुहुन्छ रे नि ?
हो, कुनै गीतको शब्दले मननै छोएको हुन्छ । जसले भावबिभोर बनाउँछ आफैसँग मेल खाएका गीतहरु जति सुन्यो, त्यति ती शब्दहरुले मनमा छोइरहन्छ ।

कार्यक्रमहरुमा फेशनेवल देखिनुुहुन्छ । कुन फेसन डिजाइनरको पहिरहन लगाउँनुहुन्छ ?
धेरै डिजाइनरहरुको लगाउँदै आएकी छु । पछिल्लो समय चाहिँ प्रायः कुसुम क्रियशनले तयार पारेको पहिरहन लगाउने गरेकी छु । बहिनी कुसुम श्रेष्ठले गरेको डिजाईन मलाई उत्कृष्ट लाग्छ ।

कुनै कार्यक्रममा लगाएको पहिरन दोहोराएर लगाउनुहुन्छ कि हुन्न ?
मैले दोहोराएर लगाएको छैन । किनकि, कार्यक्रम हेरेर पनि हुन्छ । पुर्वमा लगाएको पहिरन पश्चिमको कार्यक्रममा लगाउन मिल्दैन । सुहाउँदैन ।

बीस बर्षअघिको अन्जु पन्त र अहिलेका अन्जु पन्तमा फरक के छ ?
पहिला कठिन जिन्दगी थियो । धेरै तनावहरु आए आफनो व्यक्तिगत जिन्दगीमा । त्यसैले काममा समेत निकै बाधाहरु आए । तर, अहिले त्यो अवस्था छैन । नाम र दाम कमाएको छु, शान्तिले बाँचेकी छु ।

गाएर पैसा छापेको छापै हुनुहुन्छ भन्छन् नि ?
काम गरेको छु । सबैले बिश्वास गर्नुहुन्छ । कामको फल दिनुहुन्छ । काम गरेपछि पैसा त पाइहालिल्छ नि ।

तपाइँको सफलताको रहस्य के हो ?
धैर्यता हो जस्तो लाग्छ । जीवनमा धेरै पीडा, कठिनाइ र जटिल अवस्थाहरु देखेँ, भोगेकी छु । ती दिनहरुमा पनि नहड्बढाई काम गरेँ । यस कारण अहिले यो अवस्थामा छु ।

वैवाहिक जीवन कस्तो चल्दै छ ?
राम्रो छ, खुसी छु । श्रीमान अमेरिकामा हुनुहुन्छ । गाउने क्रममा म कहिले यत्ता–उत्ता भइराख्छु । फोनमा कुरा भइरहेको हुन्छ । म पनि चाँडै अमेरिका जाँदैछु ।

नेपालमा बसेर श्रीमानलाई कतिको मिस गर्नुहुन्छ ?
धेरै गर्छु । सायद, उहाँले पनि मिस गर्नुहुन्छ होला ।

तपाइँलाई श्रीमानले पहिलो उपहार के दिनुभएको थियो ?
गुलाफको फूल । त्यसपछि भौतिक सुख–सुबिधा । त्यो भन्दा पनि उहाँको मिठो बोली नै मेरो लागि ठूलोे उपहार हो । म उहाँको मिजासिलो स्वाभावबाट निकै प्रभावित भएको थिएँ । उहाँ असल मान्छे हुनुहुन्छ ।

छोरी पनि यहि क्षेत्रमा लागे हुन्छ जस्तो लाग्दैन ?
मैले भनेको पनि हो । तर, उनलाई गायिका अन्जु पन्तको अगाडि सबै गायक÷गायिका फिक्का लाग्छ रे, त्यसैले म गायिका बन्दिनँ भन्छिन् । छोरीलाई मोडलिङमा इच्छा भएको देखेको छु । उसले म्युजिक भिडियोहरुमा पनि काम गरिरहेकी छन् ।

जीवनमा आमाको भुमिका कस्तो हुनुपर्दोरहेछ ?
साच्ँचै भन्ने हो भने आमा बिनाको संसार कल्पना पनि गर्न सकिँदैन । जुन बेला मलाई पीडामा मलम लगाउने सायद आमामात्र थिइन् । तर, आज व्यस्तताका कारण आमासँग बस्न समय मिलेको छैन । तर, केही दिनमै आमालाई अमेरिका घुमाउन लादैछु । म मेरो छोरीलाई पनि संसारको सबैभन्दा धेरै खुशी दिन चाहान्छु ।

जीवनमा गल्ती गर्नुभएको छ कि छैन ?
जीवनमा गल्तीहरु गरेँ, त्यही गल्तीबाट धेरै सिकेको पनि छु ।

यदि तपाइँ साँगीतिक क्षेत्रमा नभएको भए, के बन्नु हुन्थ्यो ?
म यो धर्तिमा गाउनकै लागि आएको हुँ, अरु केही हुँदिन थिएँ । गायिकाबाहेक अरु बन्ने सपना पनि देखिनँ ।

सांगीतिक क्षेत्रबाट अझै सिक्न बाँकी छ कि पुग्यो जस्तो लाग्छ ?
धेरै सिक्न बाँकी छ । सिकेर कहिल्यै नसकिने क्षेत्र हो गीतसंगीत । सिक्दै जाने क्रममा अझै सिकौँ, यो भन्दा धेरै गरौँ भन्ने लागिरहन्छ ।

अन्जु पन्तलाई केमा बढी घमण्ड लाग्छ ?
म पे्रमभाव भएको मान्छे हुँ । कसैको चित्त दुखाउँदिन । मेरो बिचार सकारात्मक छ, यसैमा मलाई घमण्ड लाग्छ ।

अन्जु पन्त खासमा के हो ?
आम मान्ने जस्तै, साधारण । फरक यति मात्र हो, म गाएर जिउँछु ।

प्रतिक्रिया दिनुहोस्