काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई भागमा स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति कोशी प्रदेशका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।