Logo
Logo

प्रधानमन्त्री प्रचण्ड-देउवा छलफल निष्कर्षविहीन


819
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदको गतिरोध अन्त्य गर्न भएको छलफल निष्कर्षविहीन टुंगिएको छ । सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्तापछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कुरा जहाँको त्यही रहेको बताए । प्रचण्ड–देउवा भेट सहकारी छानविनको विषयमा नै केन्द्रीत भएपनि निस्कर्षमा नपुगेको परियारले बताए ।

एमाले, कांग्रेस र माओवादीका तीन शीर्ष नेता बालुवाटारमा आज बिहान ९ बजे भेट्ने कार्यक्रम तय भएको थियो । तर, स्वास्थ्यको कारण देखाएर देउवाले असमर्थता व्यक्त गर्दै आफ्नै निवासमा भेट्न बोलाएपछि प्रचण्ड बुढानिलकण्ठ गएका हुन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने गएनन् ।

बुढानीलकण्ठमा प्रचण्ड र देउवाबीच वान टु वान कुराकानी भएको थियो । त्यसपछि कांग्रेसका अरु नेताहरु छलफलमा मिसिएका थिए । भेटपछि पत्रकारसँग कुरा गर्दै परियारले भने, ‘प्रधानमन्त्री अत्यन्तै गम्भीर देखिनुभएको छ । भरे साँझ वा भोलिसम्ममा सहमति निकालौं भन्ने उहाँको आग्रह थियो । तर, विषयवस्तुमा कुरा मिलेको छैन ।’

सत्ता पक्षले चलाखी गरेर गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजिरहेको परियारले आरोप लगाए । ‘हामीले रविको नाम नराख्दै गर्दा कस्तो प्रस्ताव आउँछ त सत्तापक्षबाट भनेर पर्खिरहेको अवस्था हो’ उनले भने, ‘तर उहाँहरु ठीक ठाउँमा हुनुहुन्न । छानविन गर्ने ठाउँमा नै आइपुग्नुभएको छैन । थप छलफल गरेर अगाडि बढ्ने कुरा भएको छ ।’

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले गोर्खा मिडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि रविको नाम नलेख्दा पनि हुँदैन भनेर देउवासँग प्रस्ताव गरेका थिए । तर, आफूहरु यसमा तयार नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्