काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र सकारात्मक दिशामा पुगेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा चालू वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै उनले देशको समग्र अर्थतन्त्र सकारात्मक स्थितिमा आएको बताएका हुन् ।
चालू वर्षमा मुलुकको आर्थिक विस्तार ३.९ प्रतिशतले हुने उनले बताए । उत्पादनमूलक क्षेत्रमा आएको सङ्कुचनका बाबजुद सेवा क्षेत्र र कृषि क्षेत्रमा आएको सुधारले यो स्तरको वृद्धि हुने सरकारको अनुमान छ ।
प्रदेशगतरुपमा गण्डकी, बागमती र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको छ । चालू वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ । प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने सरकारको अनुमान रहेको छ ।
यस्तै, चालू वर्षको फागुन महिनासम्म मुद्रा स्फीति ६.०८ प्रतिशत छ । राजश्व परिचालनमा क्रमशः सुधार हुँदै गएको छ । चालू वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ । यस अवधिमा संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको छ ।
२०८० फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ भने तीमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता, कर्जाको ब्याजदर घट्दोक्रममा रहेको उनले बताए । चालू वर्षको फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ ।