Logo
Logo

प्रेमबहादुर मावोहाङः ओझेलमा परेका इतिहासकार


11k
Shares

आफ्नो भूमीको ऐतिहासिक विरासत जोगाउन अन्तिम समयसम्म मरिमेटेर लड्ने लिम्बू सुब्बामध्ये एक हुन्, प्रेमबहादुर माबोहाङ । उनी आफ्नो समयका मिक्लुङ थुमका ठूला र नामी सुब्बा थिए । अहिले मिक्लुङ थुम धनकुटा र मोरङ जिल्लामा पर्छ । राजा महेन्द्रले २०२१ सालमा भूमी सुधार लागू गरेपछि खोसिएको किपट अधिकार फर्काउन उनले हरसम्भव कोशिश गरेका थिए ।

सुब्बा प्रेमबहादुर लिम्बूवानका ठूला जिम्मावाल किपटिया सुब्बामध्येका एक थिए भन्ने प्रमाण हो, उनको सुवांगी जिम्मामा परेको क्षेत्रफलको भूभाग । उनको जिम्माको किपटभित्र मिक्लुङ पहाड (दक्षिणी पानीढलो), बोक्रा पश्चिम, बुढिखोलापूर्व भुँडेसिमल उत्तरको आठ मौजा रहेको थियो (“थाक्थाकु मावोहाङ चेम्जोङ वंशावली”, २०६५ःख) ।

प्रेमबहादुरले पाएको यति ठूलो किपटिया सुवांगीका कारण उनलाई “प्रेमबहादुर जिम्दार” भनेर पनि चिनिन्थ्यो ।

चेम्जोङ लिम्बूको ऐतिहासिक विरासत
प्रेमबहादुरको पुख्र्याैली विरासत पनि नेपालको इतिहासमा महत्त्वपूर्ण छ । कुनै समयका प्रतापी लिम्बू राजा माबोहाङका ३४ थरी सन्तानमध्ये चेम्जोङ थरका लिम्बू हुन् उनी । चेम्जोङहरुको ऐतिहासिक चर्चा गर्दा उनीहरुले सेनकालमा राज्यबाट निक्कै महत्त्वपूर्ण जिम्मेवारी पाएको ऐतिहासिक पत्रहरु उपलब्ध छन् । वि.सं. १८३१ साउनमा पृथ्वीनारायण शाहसँग सम्झौता गर्ने विजयपुरका तीन मन्त्रीमध्ये सुन राय चेम्जोङ थरका लिम्बू हुन् । उनलाई सामो राय भनेर पनि इतिहासमा चिनिन्छ ।

विजयपुरमा कामदत्त सेन राजाका रुपमा पुनस्थापित हुँदा वि.सं. १८१८ मा चौविस थुमका चेम्जोङहरुसँग सम्झौता गरेको पत्र इतिहासकार इमानसिंह चेम्जोङले प्रकाशमा ल्याएका छन् । “किरातकालिन विजयपुरको सङ्क्षिप्त इतिहास” (२०५९ः५८–५९)मा प्रकाशित वि.सं. १८१८ जेठ सुदी १५ मा जारी उक्त पत्रमा त्यतिखेर चौतरियाका रुपमा नियुक्त सिरिकान्त रायलाई चेम्जोङहरुसँग मिलेर राजकाज गर्न भनिएको छ ।

चेम्जोङहरुले सेन राजाहरुलाई आपतविपत आइलाग्दा उनीहरुलाई ठूलो सहयोग गरेको इतिहास पनि पाइन्छ । वि.सं. १७६३ मा मकवानपुरका राजा शुभ सेन र विजयपुरका राजा विधाता इन्द्र सेनलाई नवावहरुले अपहरण गरी लगेका थिए । राजा अपहरण परेपछि विजयपुरको राजगद्दिमा विधाता इन्द्रकी रानी मदिधाता इन्द्रराजराजेश्वरी बसेकी थिइन् । उनले यस्तो आपतविपतको अवस्थामा मुगलहरुबाट आफ्नो भूमी फिर्ता गर्न चेम्जोङलगायतका लिम्बूहरुलाई हारगुहार गरेकी थिइन् । महारानीले चेम्जोङलगायतका लिम्बूहरुलाई लेखेको उक्त पत्रको सक्कल अन्वेषक जनकलाल शर्माले “प्राचीन नेपाल”को सङ्ख्या ४ (साउन २०२५ः३५)मा प्रकाशित गरेका छन् ।


लिम्बूवानका नेता
यस्तो ऐतिहासिक राजकीय विरासत बोकेका चेम्जोङ लिम्बूका सन्तान प्रेमबहादुरले आफ्नो किपटको नविकरण र नयाँ लालमोहरका लागि अन्तिम समयसम्म लडिरहेको इतिहास पाइन्छ । तत्कालिन राजा महेन्द्रले वि.सं. २०१७ चैत २७ गते आफ्नो छापसहित उनलाई एक मोहर प्रदान गरेका थिए । मोहरमा “नेपाल अधिराज्य पल्लो किरातका लिम्बू किपटिया गैरके…” भन्ने परेको छ । यो नै लिम्बूहरुले पाएको सुवांगीको अन्तिम मोहर बन्न पुग्यो ।

यो मोहर छापाखानामा छापेर आफ्नो सुवांगीको छाप लगाई प्रेमबहादुरले विभिन्न ठाउँमा वितरण गरेका थिए । तीमध्ये एक प्रति यस लेखकको सङ्ग्रहमा सुरक्षित छ ।

सुब्बा प्रेमबहादुर किपट नविकरण र नयाँ लालमोहरका लागि दरबारको ढोका ढक्ढक्याउन बारम्बार काठमाडौँ पुगिरहन्थे । चर्चा के पनि छ भने बारम्बार किपट माग्न आउने गरेकोमा उनलाई अल्मल्याउन दरबारियाहरुले सुरा र सुन्दरीमा चुर्लुम्म डुबाउने कोशिश पनि गरेका थिए । तर उनले जस्तोसुकै अवस्थामा पनि आफ्नो अडान भने छाडेनन् ।

प्रेमबहादुरले किपट नविकरणका लागि अथक रुपमा राजदरबारको ढोका ढक्ढक्याइरहेको उदाहरणका रुपमा उनले मिकलुङ पहाड थुमको सुब्बाको हैसियतले राजदरबारमा १३ पटक बिन्तिपत्र चढाएकोलाई लिन सकिन्छ । यसरी लगातार बिन्ति पत्र चढाएपछि सरकारी पक्षबाट एक शाखा अधिकृतले वि.सं. २०२४ साउनमा “तपाईंले लेखेको निवेदनहरु श्री ५ महाराजाधिराजका हजुरमा जाहेर भएको हुँदा निवेदकलाई समेत रोहबरमा राखी निजसँग राय बुझी कानुन अन्तरगत भइरहेकोमा सोही कुराबाट चित्त बुझाई कुनै जाहेर गर्नुपर्ने हुन आएमा मन्त्रीस्तरबाट तुरुन्तै जाहेर गर्नु” भन्ने पत्र लेखेका थिए (भगिराज इङनाम र शेरबहादुर इङनाम “तेह«थुम जिल्लाको सुब्बाङ्गी प्रथा”–२०७०ः२७९) ।

यसरी भूमिसुधार मन्त्रालयको पत्र प्राप्त भएपछि किपटिया लिम्बू सुब्बाहरुबीच छलफल चलाई राजासमक्ष रायसुझाव जाहेर गर्न प्रेमबहादुरकै आह्वानमा वि.सं. २०२४ फागुन २५ गते विजयपुरको बुढासुब्बा मन्दिरको प्राङ्गणमा किपटिया सुब्बाहरु भेला भएका थिए । भेलाले किपट थितिरीति यथावत् थामी पाउन सरकारमा जाहेर गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रेमबहादुरकै नेतृत्त्वमा लिम्बूवानको १७ थुमको प्रतिनिधित्त्व हुने गरी १६ सदस्यीय टोली गठन भएको थियो (इङ्नामद्वय, २०७०ः२७९) ।

यसअघि २०१६ सालमा तेह«थुममा लिम्बूवानको विशाल सम्मेलन सम्पन्न भएको थियो । लिम्बूवानको सम्मेलन भएको यो पहिलो ऐतिहासिक अवसर थियो । सम्मेलनमा तत्कालिन उपमन्त्री देउमान आङ्देम्बे, ललितबहादुर सुब्बाजस्ता प्रबुद्ध ब्यक्तित्त्वहरुको सहभागिता रहेको थियो । सम्मेलनले सुब्बा प्रेमबहादुर अध्यक्ष र पद्मसुन्दर लावति सचिव रहेको लिम्बूवान सुरक्षा सुरक्षित संगठन निर्माण गरेको थियो (पद्मसुन्दर लावति, “मेरो देश मेरो परिवेश”–२०७१ः३४) ।

यसरी सुब्बा प्रेमबहादुर मावोहाङले लिम्बूवानी संगठनको नेतृत्त्व गर्न सुरु गरेका थिए । तर काठमाडौँ पुगेपछि संगठनमा फूट आयो । सुब्बा प्रेमबहादुरलगायतका केही सदस्य टोलीबाट अलग भए । लावतिले देउमान आङ्देम्बेलाई अगाडी सारेर बमबहादुर सम्बाहाम्फे, काजीमान श्रेष्ठ र नारायणभगत प्रधानाङ्गसहितको टोलीले राजासँग भेट गरी आफ्नो कुरा जाहेर गरेको थियो (लावति, २०७१ः३४) ।

त्यसपछि नेपालको राजनीतिमा पद्मसुन्दर लावतिको उदय भयो । अहिले पनि लिम्बू अगुवाहरुले बेलाबेलामा तेह«थुम म्याङलुङको छकलिटारमा भेलाको आयोजना गर्ने गरेका छन् । यसको सुरुवात उनै प्रेमबहादुर मावोहाङलगायतले वि.सं. २०१६ मा सुरु गरेका हुन् । यस्तो भेलालगायत किपटसम्बन्धी माग बोकेर दरबारको ढोका ढक्ढक्याउने लिम्बू सुब्बामध्ये एक मात्रै जिवित तेह«थुम, छथरका प्रेमभक्त खेवाको हालै निधन भयो ।

यसअघि पनि लिम्बूवानका किपटिया सुब्बाहरुले किपट सुधारसम्बन्धी सवालमा राज्यलाई घच्घच्याइरहेका थिए । त्यसपछि सरकारले तीन पक्षलाई राखेर किपटसम्बन्धी छलफल चलाएको थियो किपटसम्बन्धी छलफल गर्न लिम्बूवानमा जर्नेल नीरविक्रम राणा, उपसचिव जीडी गुरुङ तथा बडाहाकिम मोहनबहादुर सिंहको टोली केन्द्रबाट आयो ।

लिम्बूवानमा बस्ने गैरकिपटियाका तर्फबाट गङ्गाप्रसाद सिटौला, सूर्यबहादुर थापा, तिलविक्रम श्रेष्ठ तथा गङ्गाप्रसाद दाहाल छलफलमा सरिक थिए । किपटिया लिम्बू सुब्बाहरुको तर्फबाट ललितबहादुर तुम्वाहाम्फे, देउमान आङ्देम्वे, मेदनीप्रसाद कन्दङ्वा, काजीमान कन्दङ्वा, गुञ्जमान आङ्बुहाङ, हर्षवर्दन कन्दङ्वा र नन्दप्रसाद खेवाका साथ सुब्बा प्रेमबहादुर मावोहाङ पनि छलफलमा सहभागी थिए । तर छलफल निष्कर्षमा पुग्न सकेन (इङनामद्वय, २०७०ः२७०) ।

त्यसपछि किपट समस्या समाधानका लागि सरकारले खटाएको प्रतिनिधि, गैरकिपटिया प्रतिनिधि र किपटिया प्रतिनिधिहरुबीचको छलफल निष्कर्षमा नपुगेपछि किपटिया सुब्बाहरुलाई राजाबाट काठमाडौंमा बोलावट भयो । २०१३ साल मङ्सिर १३ गते राजासँगको दर्शनभेटका लागि फेदाप थुमका सुब्बा ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा लिम्बूवानबाट प्रस्थान गर्ने २९ सदस्यीय प्रतिनिधि मण्डलमा एक सदस्यका रुपमा सुब्बा प्रेमबहादुर पनि सहभागी थिए (इङ्नामद्वय, २०७०ः२७०–७१) ।

यसरी लिम्बूवानमा रस्ती रसाउने र बस्ती बसाउने किपटिया लिम्बूहरुको ऐतिहासिक विरासतलाई बचाउन सुब्बा प्रेमबहादुर मावोहाङले अथक प्रयास गरेको देखिन्छ ।

राजनीति र इतिहास लेखन
सुब्बा प्रेमबहादुरको २००७ सालको क्रान्तिमा पनि सक्रिय सहभागिता रह्यो । २००७ सालमा क्रान्तिकारीहरुले धनकुटा कब्जा गरेपछि ललितबहादुर लिम्बूको गभर्नर रहेको सामयिक सरकार गठन भएको थियो । यस सरकारमा गजेन्द्रबहादुर प्रधानाङ्ग, नरेन्द्रकुमार प्रधान, कमानसिंह लिम्बू, लक्ष्मीप्रसाद घिमिरे, चन्द्रमान कन्दङ्वा, शेरबहादुर लिम्बू, गुञ्जमान लिम्बू, काजीमान कन्दङ्वा र विद्यानाथ पोखरेलका साथ प्रेमबहादुर मावोहाङ पनि सदस्यमा चयन भएका थिए (पुरुषोत्तम बस्नेत, “नेपाली कांग्रेसको इतिहासको प्रारुप” भाग १– २०६६ः२२६)

प्रेमबहादुर वि.सं. २०१५ को आम निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई लडेका थिए । तर उनलाई यस निर्वाचनमा सफलता भने मिलेन ।

अनेकौँ कार्यहरु गरेर ऐतिहासिक ब्यक्तित्त्वका रुपमा स्थापित सुब्बा प्रेमबहादुर आफैमा एक इतिहासकार पनि हुन् । उनले भुपेन्द्रनाथ शर्मासँगको सहलेखनमा २०११ सालमा “संक्षिप्त नेपाल इतिहास” नामको कृति प्रकाशित गरेका थिए ।

उनले यो कृतिमा पृथ्वीनारायण शाहले लिम्बूहरुलाई दिएको महत्त्वपूर्ण लालमोहरहरु प्रकाशित गरेका छन् । वि.सं. १८३१ वैशाख वदी ३० मा पृथ्वीनारायण शाहले जङ्ग राय, फुङ राय, जमुन रायको नाममा जारी गरेको लालमोहर प्रेमबहादुरले आफ्नो पुस्तकमा प्रकाशित गरेका छन् । यसलाई नयराज पन्त र अरु (सम्पा.)ले “श्री ५ पृथ्वीनारायण शाहका उपदेश” (२०२५ः११७९–८०)मा यथोचित स्थान दिई यसको ऐतिहासिक ब्याख्या गरेका छन् ।

यसैगरी पाल्पाली राजा मुकुन्द सेनको काठमाडौँ उपत्यका आक्रमणका बारेमा ऐतिहासिकतालाई मसिनो ढङ्गले ब्याख्या गर्ने क्रममा इतिहासकारहरु महेशराज पन्त र दिनेशराज पन्तले “पूर्णिमा”को पूर्णाङ्क ४६ (पुस २०३७ः१९–५२ परिशिष्ट २७) प्रेमबहादुर र शर्माले लेखेको मुकुन्द सेनका आक्रमणको प्रसङ्गलाई पनि समेटेका छन् ।

तर “इतिहास लेखनको इतिहास” (२०५१) लेख्ने इतिहासकार डा. राजेश गौतमले भने प्रेमबहादुर जस्तो अग्रज इतिहासकारलाई आफ्नो ४१८ पृष्ठ मोटो पुस्तकमा सम्झना गर्न आवश्यक ठानेनन् । प्रेमबहादुर त के इमानसिंह चेम्जोङजस्ता इतिहासकारलाई पनि डा. गौतमले इतिहासकार ठानेको देखिदैन ।

वि.सं. १९४९ पुसमा धनकुटाको मिक्लुङ, नागी (हालः चौविसे गाउँपालिका)मा जन्मेका उनको वि.सं. २०२७ कात्तिकमा निधन भयो । उनले आफ्नो जीवनभर अनेकौँ परोपकारी कामहरु गरे । उनले वि.सं. २०१३ मा ललितपुरको तिखेदेवललाई जिर्णोद्धार गरे । यसमा उनले सिरिजङ्गा लिपीमा शिलालेख कुद्न लगाएर राखे । भाषा र लिपीको विकास र संरक्षणमा उनको यो कामलाई उदाहरणीय मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्