काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै छ । आज दिउँसो १ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने भएका हुन् ।
जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।
सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेकोले आज बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने कानुन मन्त्री पदम गिरीले जानकारी दिए ।