काठमाडौं, २ बैशाख ।
विदेशबाट आएर फर्किएका तीन जनाको आरडिटीबाट परीक्षणबाट पोजेटिभ देखिएपछि पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा त्रास फैलिएको छ । अपार्टमेन्टभित्र करिब पाँच सय परिवारका १८ सय बस्दछन् ।
तीन जनाको अर्काे रिपोर्ट नआएसम्म अपार्टमेन्टबाट कसैलाई बाहिर जान नदिने निर्देशन दिइएको छ । साथै बाहिरबाट प्रवेश पनि रोकिएको छ । अपार्टमेन्टको गेटमा प्रहरी राखिएको छ । भित्र कसैलाई औषधी लगायत अत्यावश्यक सामान चाहिएमा प्रहरीमार्फत नै उपलब्ध गराउने व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।
कसरी भयो परीक्षण ?
सरकारले विदेशबाट आएका सबैलाई निगरानी गर्न भनेको छ । सोही अनुसार कागेश्वरी मनहरा नगरपालिकाले विदेशबाट आएकाहरुको विवरण संलग्लन गरी परीक्षण सुरु गरेको हो । मनहरास्थित स्वास्थ्य चौकीमा उनीहरुको परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पताल लगिएको हो । तीनै जनाले आफुहरु आइसोलेसनमा बसेको बताएका छन् । अपार्टमेन्टभित्रै कार्यक्रमहरु भएको, लिफ्टको प्रयोग हुने र नजिकैको एटिएम बुथ धेरैले प्रयोग गरेकाले भित्र बस्नेहरु त्रसित भएका छन् । पिसिआर टेष्टबाट पनि तीन जनाको पोजेटिभ रिपोर्ट आएमा अपार्टमेन्टभित्रका सबैको परीक्षण गर्ने सरकारको तयारी छ । साथै उनीहरु बेलायतबाट आएको विमानका अन्य यात्रुहरुको समेत प्रहरीले खोजी सुरु गरिसकेको छ ।