Logo
Logo

सीमामा सुरक्षाकर्मीको जनशक्ति अभाव, भारतबाट छिर्ने क्रम रोकिएन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ बैशाख ।
नेपाल–भारतको सीमामा जनशक्ति अभाव हुँदा कोरोना संक्रमणको जोखिम बढीरहेको छ । खुला सीमामा थोरै मात्र जनशक्ति भएकोले भित्री बाटोबाट भारतबाट नेपालमा भित्रने क्रम रोकिएको छैन ।

सीमा बन्द भएपछि नै लुकेर भारतबाट आएका रौतहतका एक युवकमा कोरोना संक्रमण देखिएको सोमबार पुष्टि भएको छ । यो घटनाले थप जोखिम बढाएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । पर्याप्त जनशक्ति नहुँदा ने यसरी छिर्ने क्रम नरोकिएपछि पहाडी तथा हिमाली जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई समेत सीमामा खटाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले भिआईपीको सुरक्षामा खटिएकालाई समेत सीमामा खटाउन निर्देशन दिएका छन् ।

भारतसँगको खुला सीमा व्यवस्थापनमा विगतमा दीर्घकालिन योजना बनाएर कार्यान्वायन नगर्दा अहिले समस्या आएको हो । जम्मा २ हजार सशस्त्र प्रहरीलाई १७ सय किलोमिटर लामो सीमा सुरक्षाको जिम्मेवारी थियो । अहिले सीमा बन्द भएपछि करिब तीन हजार थपिएको छ । तर, पनि सीमाबाट छिर्ने क्रम रोकिएको छैन ।

भारतमा तिव्र गतिमा कोरोना संक्रमण बढीरहेको छ । भारतबाट आएका तीन जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । आइतबार संक्रमण पुष्टि भएका वीरगञ्जका तीन जना पनि भारतबाटै संक्रमित भएको आशंका गरिएको छ ।

कतिपयहरु नेपालीहरु भारतका विभिन्न सहरबाट हिड्दै सीमासम्म आएर रातको समयमा प्रवेश गरेका छन् । केही भारतीयहरु सीमा क्षेत्रका आफन्तका घरमा आउने गरेका छन् । रातको समयमा प्रहरीको डिडटी नियमित नहुने भएकाले उनीहरु प्रवेश गर्दछन् ।

गृह मन्त्रालयले ९ सय २५ पोष्टमार्फत सीमामा निगरानी भइरहेको जनाएको छ । तर, जनशक्ति पर्याप्त नहुँदा भारतबाट छिर्ने क्रम नरोकिएपछि गृहले सुरक्षाकर्मी थप्न लागेको हो । खुला सीमा व्यवस्थापनमा विगतमा उदासिनताको परिणाम अहिले भोग्नुपरेको एक सुरक्षाविद् बताउँछन् । ‘खुला सीमा नियन्त्रणको कुरा उठेपनि कसैले यसको गम्भीरता बुझेनन्,’ एक पूर्व एआईजी भन्छन्,‘ खुला सीमानालाई सुरक्षाका विषयसम्म मात्र हेरियो, सुरक्षाभन्दा प्रकोप जोखिम हुनेबारे बहस नै भएन ।’

प्रतिक्रिया दिनुहोस्