महोत्तरी, २ वैशाख । परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिइँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जुडशितल पर्व लकडाउनमै मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै दुई दिन मनाइने यो पर्वमा आज श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिएर मनाइँदै गरिएको हो ।
नयाँ वर्षमा मनाइने ‘जुडशितल’ पर्वको पहिलो दिन हिजो ‘सतुवाइन’ सम्पन्न गरिएको थियो । पहिलो दिन अर्थात् ‘सतुवाइन’ मनाइँदा अत्यन्त गुणकारी मानिने जौँ र चनाको सातु तथा सर्वत खाने, ख्वाउने मैथिल परम्परा छ । यस दिन सातु र सर्वत दान गर्ने पनि मैथिल चलन छ ।
पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् ।
नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । वर्षभरि खेतीपाती राम्रो हुन सकोस् भन्ने कामनासाथ सन्तुलित वर्षा होस् र हिलोमा धसिएर मुख्य फसल धान रोपाइँ गर्न पाइयोस् भन्ने सन्देशकै लागि हिलो खेल्ने चलन बसेको जलेश्वर नगरपालिका–८ बजराहीका बासिन्दा मैथिल ब्राह्मण मनोहरनाथ पाठक बताउनुहुन्छ ।
गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् । दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताउनुहुन्छ ।
जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ ।
मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको यस क्षेत्रका साहित्यकार महोत्तरीकै जलेश्वर–१४ बखरीका बासिन्दा नेपाल सरकारका अवकाशप्राप्त उपसचिव महेश्वर राय बताउनुहुन्छ ।
यसपालि कोभिड–१९ को सन्त्रासले सबैतिर लकडाउन हुँदा जुडशितलमा हिलो छ्यापाछ्याप गर्न बाहिर निस्कने अवस्था छैन । पर्वका लागि आवश्यक परिकार व्यापारीले ठेलामा बस्ती÷बस्ती पु¥याइरहेका छन् । यसपालिको ‘जुडशितल’ पर्व कोरोना रोकथामका लागि घरै बसेर मनाउन जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जिल्लावासीसँग अपिल गर्नुभएको छ । (रासस)