काठमाडौं, २ बैशाख ।
भारतले लकडाउनको अवधि थप १९ दिन बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ३ मे(२१ बैशाख)सम्म लकडाउन लम्बाउने जानकारी दिएका हुन् ।
भारतमा २१ दिन लामो लकडाउन मंगलबार सकिदैछ । संक्रमणको दर बढेपछि भारतले लकडाउन लम्बाएको हो । भारतमा दैनिक एक हजारको दरले संक्रमण बढीरहेको छ । १० हजार पाँच सय संक्रमित भइसकेका छन् ।
भारतको लकडाउनको असर नेपालमा समेत पर्ने छ । नेपालमा पनि सरकारले मंगलबार लकडाउन लम्बाउने तयारी गरेको छ । २१ बैशाखअघि नेपालमा पनि लकडाउन खुल्न सम्भावना नभएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । सीमा बन्द भएपनि खुला सीमाका कारण एक अर्काका देशमा छिर्ने सम्भावना भएकाले भारतको अवस्था हेरेर नेपालमा समेत निर्णय लिन लागिएको छ । लकडाउन लम्बाउनेबारे मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दै छ ।