आज मंगलबार, २०७७ बैशाख २ गते । देश ‘लकडाउन’का कारण आज पनि हामी दृष्टिन्यज डटकम अनलाइनको माध्यमबाट पाठकसमक्ष जोडिन बाध्य भएका छौँ ।
हिजोमात्र हामीले २०७६ साललाई विदा गरेर २०७७ सालको स्वागत गरेका छौँ । वितेको वर्षको समीक्षा आउँदो वर्षको आशा भनेकै नयाँ वर्षको स्वागत हो । हरेक नयाँ वर्षले आशाको दियो बालेर ल्याएर हुन्छ । त्यसलाई निभ्न नदिनु नै मानवजातीको सफल जीवनयात्रा हो ।
त्यो यात्रामा कोरोना भाइरस (कोभिड–१९)ले सिंगो मानवजातीको अस्तित्वमाथि चुनौती खडा गरिदिएको छ । अहिले महाशक्ति राष्ट्रहरु पनि मानवजीवनको अस्तित्व रक्षाका लागि लडाइँमा होमिएका छन् । यसबाट हामी पनि अछुतो छ्रैनौँ ।
नेपाल–भारतको खुला सीमा र खाडीलगायत विभिन्न देशमा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताले यो रोगको संक्रमण बढाउने खतरा छ । अहिलेसम्म हामी यस संक्रमणबाट सजग मात्र भएका छौँ । यो संक्रमण सल्किएको खण्डमा त्यसको समाधान गर्ने स्रोत, साधनको ठूलो अभाव छ ।
सिंगो राष्ट्रमाथि अचानक आइपरेको यो संकटलाई टार्न राष्ट्रिय सहमतिको आवश्यकता छ । सबै राजनीतिक दलहरु एक ठाउँमा उभिए मात्र यो संकट सामना गर्न सक्छौँ । भूकम्पको बेलामा पनि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएकै कारण लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सकेका हौँ । विगतको राम्रा कुराहरुबाट शिक्षा लिएर अगाडि बढ्नु नै बुुद्धिमानी हो ।
जननेता मदन भण्डारीले पटक–पटक आफ्नो भाषणमा दोहो¥याउने शब्द हो, ‘सिंहावलोकन’ । यो शब्दमा राजनीतिक अर्थ लुकेको छ अर्थात् एकोहोरो रुपमा अगाडि बढ्ने मान्छेले आफू कति कदम अगाडि बढेको छु भन्ने कुरा पछाडि नहेरेसम्म थाहा पाउन सक्दैन । यसको अर्को अर्थ दुई कदम अगाडि, एक कदम पछाडि फर्केर हिँड भनेको हो ।
तर दुर्भाग्य, यो महासंकटको बेलामा पनि एउटै पार्टीभित्र सहमतिको स्वर सुनिन छाडेको छ । अझैपनि ‘ङ्यारर्र ङुरर्र’ स्वरले नेकपाभित्रको अन्र्तविरोधलाई सतहमा ल्याइदिएको छ । यसले आम मानिसमा एउटै पार्टीलाई मिलाएर लैजान नसक्नेले राष्ट्रिय सहमति कसरी निर्माण गर्न सक्लान् भन्ने जिज्ञाशा उत्पन्न गरेको छ ।
नेता र नेतृत्वको पहिचान हुने बेला संकटको घडीमै हो । संकटको बेला जसले सबैलाई समेटेर अगाडि बढ्न सक्छ, उसले नै संकट पार लगाउन सक्छ । जोे एक्लै अगाडि बढ्न खोज्छ, त्यसले देशमा ठूलो दुर्घटना निम्ताउन सक्छ । यो कुराको पछिल्लो उदाहरण चीन नै हो । चीनको उहानबाट सुरु भएको कोरोना भाइरसलाई चिनियाँ सरकार र जनता मिलेर परास्त गरेबाटै चिनियाँ कम्युनिष्ट पार्टी विश्वमै कति अनुशासित र सक्षम छ भन्ने कुरा आजको विश्वलाई प्रमाणित गरेर देखाइदिएको छ । यसबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वले पनि शिक्षा लिनैपर्छ ।
प्रकाशित मिति : मंगलबार, २ बैशाख २०७७