काठमाडौं । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ ।
अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिए ।
उनले भने, ‘हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्डविपरीत भेटिएपछि ताला लगाएका छौँ ।’
भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ ।
ताला लगाइएका फार्मेसीलाई के कारबाही हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको निमित्त स्वास्थ्य विभाग प्रमुख महर्जनले बताए ।