काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासीतर्फ जाँदै गरेको बस जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा बिहीबार दुर्घटना भएको हो । दुर्घटनामा ६९ जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बस करिब १५० फिट तल खसेको छ । घाइतेहरुलाई जम्मुको अखनुर अस्पतालमा र सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।