काठमाडौं । सत्तारूढ तीन दलका अध्यक्षबिच सिंहदरबार भेट भएको छ । उनीहरुको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटेर छलफल भएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच कुराकानी भएको हो ।
उनीहरूबीच शुक्रबार दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका विषयका कुराकानी भएको हो । छलफलपछि एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रतिक्रिया दिएका छन् ।
एकीकृत समाजवादी अध्यक्ष नेपाल बुधबार अपराह्न विपक्षी दलहरूको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए । सत्तारूढ दलका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भन्दै यसले राजनीतिक तरंग ल्याइरहेको छ ।
एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा सरकार छ तर मुख्यमन्त्रीलाई विश्वास मत दिए पनि एमाले सरकारमा सहभागी छैन । कर्णाली र कोशी सरकारमा पनि एकीकृत समाजवादीलाई सहभागी नगराइएकोमा असन्तुष्टि देखिएको छ । मधेस सरकारबाट एमाले र माओवादी बाहिरिँपनि एकीकृत समाजवादी भने सरकारमै छ ।