काठमाडौं । मधेश प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बन्ने निश्चित भएको छ । नेकपा एकीकृत समाजवादी सहमतिमा आएसँगै मधेशमा नयाँ सरकार बन्ने भएको हो ।
पछिल्लो सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व जनमत पार्टीले गर्नेछ । मधेशमा अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । तर, जसपा विभाजन भएसँगै नेकपा माओवादी केन्द्र र नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।
उनले संवैधानिक व्यवस्था अनुसार जेष्ठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन् । तर, त्यसअघि नै जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरिएको छ । नयाँ गठबन्धनका नेताहरु त्यसका लागि दौडधुप गरिरहेका छन् ।
केही दिनअघि जनमत, एमाले र माओवादीबीच जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने लिखित सहमति भएको थियो । जुन बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत स्वयं उपस्थित थिए ।
तीन दलले गरेको लिखित सहमतिमा एकीकृत समाजवादी र लोसपा पनि नयाँ सरकारमा सहभागी हुने उल्लेख थियो । तर, उक्त सहमतिमा लोसपाले आपत्ति जनाएको थियो भने एकीकृत समाजवादीकासांसदहरु पनि नयाँ सरकारबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका थिए । तर, अब यी दुवै दल सरकारमा जाने लगभग टुंगो लागेको छ ।
सत्तारूढ एकीकृत समाजवादीले मधेशमा नयाँ सरकार बनाउन आनाकानी गरेपछि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए । उक्त भेटमा अध्यक्ष नेपालले सत्ता गठबन्धनमै रहने र मधेशमा नयाँ सरकार बनाउन सकारात्मक रहेको स्रोतको भनाइ छ ।
अध्यक्ष नेपालले ओली र प्रचण्डलाई भेट्नुअघि मधेसका एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी मधेश संसदीय दलका नेता भरतप्रसाद साह र जनमतका नेता महेश प्रसाद यादवसँग भेटवर्ता गरेका थिए । उनीहरुले मधेशमा नयाँ सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएका छन् ।
एकीकृत समाजवादी मधेसमा नयाँ सरकार बनाउन सहमतिमा आएसँगै लोसपा पनि सकारात्मक देखिएको छ । माओवादी संसदीय दलका उपनेता यूवराज भट्टराईका अनुसार लोसपा नयाँ सरकारमा सहभागी हुन अहमत भएको छ ।
सत्ता गठबन्धनमा आवद्ध पार्टीका संसदीय दलका नेता र उपनेताहरु नयाँ सरकारबारे सबैथोक फाइनल गरेर काठमाडौंबाट जनकपुरधाम फर्किएको स्रोतको भनाइ छ । उनीहरु आजै साँझसम्म प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।