Logo
Logo

अमेरिकामा अर्को विपत्ति, आँधीबाट ३० जनाभन्दा बढीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

च्याट्सवर्थ, २ वैशाख (एपी) । पछिल्लो समय कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वमा आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।
आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोरानाभाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको मृत्यु भइसकेको छ ।
उता दक्षिणी क्यारोलिना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको मृत्यु भएको छ । टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन् । अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।
दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ । मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताए । उनले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताए ।
जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामबिहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताए । उनले भने, ‘अब यी मानिससँग आफ्नो भन्ने केही छैन, सबै गुम्यो ।’

प्रतिक्रिया दिनुहोस्