Logo
Logo

३४ जना ब्राजिलियाली बोकेर दिल्ली उड्यो न्यारोबडी, आजै फर्कँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ बैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाज ३४ ब्राजिलियाली नागरिक लिएर नयाँदिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका ब्राजिलियाली नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँदिल्ली गएको जहाज आजै साँझ स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । निगमको वाइड बडी जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ । यसअघि चैत २८ गते ग्वाङ्जाओ उड्ने कार्यतालिका रहे पनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो । चीनबाट चिकित्सा सामग्री ल्याउन व्यवसायीले वाइड बडी जहाज चार्टर्ड गरेका थिए । अन्तिम समयमा व्यवसायीकै कारण निगमले उडान रोक्नुपरेको थियो ।
लकडाउनका अवधिमा निगमको अन्तर्राष्ट्रिय उडान सर्वा्धिक भएका छन् । सबैभन्दा बढी उडान गर्ने कतार एयरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ । निगमले यस अवधिमा पाँच अन्तरराष्ट्रिय उडान भरेको छ । यीमध्ये तीन उद्धार उडान र दुई कार्गो उडान हुन् । निगमको वाइड बडीले चैत १६ गते चीनको ग्वाङ्जाओबाट कोभिड–१९ को १३ हजार केजी चिकित्सा सामग्री ल्याएको थियो । त्यस्तै चैत २० गते कोभिड–१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइड बडी जहाज ग्वाङ्जाओ उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्