चितवन । हुरीका कारण यहाँको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।
उनले भने, ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।’ उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो ।
सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण रु १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए ।
९० प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले जानकारी दिए । जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । उनका अनुसार यहाँ सात सय किसानले केराखेती गरेका छन् ।