काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप क्रिकेट अन्तर्गत ओमानले नामिबियालाई ११० रनको मध्यम लक्ष्य दिएको छ ।सोमबार ब्रिजटाउनमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो ।
ओमानका खादिल कैलले ३४ रन बनाए । जिसान मक्सुदले २२ रन थप्दा आयान खानले १५ र साकिल अहमेदले ११ रन जोडे । ओमानका कश्यप प्रजापति र कप्तान अकिब इल्यास गोल्डेन डक भएका थिए । ओमानलाई सस्तैमा समेट्न नामिबियाका रुबेन ट्रम्पेलमेनले चार विकेट लिए । डेविड वाइजेले तीन विकेट लिँदा गेहार्ड इरास्मसले दुई र बेर्नार्ड स्कल्जले एक विकेट हात पारे ।
दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नामिबियाले हाल ६ ओभर समाप्त हुँदा एक विकेट गुमाएर ३२ रन बनाएको छ । नामिबियाबाट हाल क्रिजमा रहेका निकालेस ड्याभिन १६ र जान फ्रयांकलीन १५ रनमा खेलिरहेका छन् । त्यसअघि ओपनर मिचेल मान लिंगेन शून्यमा आउट भएका थिए ।